धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटा नगरपालिका वडा नं.१ हिलेमा वि.सं.२०१८ सालमा स्थापना भएको हिले माविमा विद्यालय स्थापना भएको ६३ वर्ष पछि आदिवासी जनजाति समुदायबाट पहिलो पटक प्रधानाध्यापक नियुक्त भएका छन् ।
विगत १५ वर्ष देखी हिले माविमा शिक्षक पदमा कार्यरत रहेका धनकुटा नगरपालिका वडा नं.१ हिले स्थित् न्यूरोड घर भएका गणेश पिठाकोटे मगर पहिलो पटक आदिवासी जनजाति समुदायबाट हिले माविको प्रधानाध्यापकमा नियुक्त भएका हुन् । हिले माध्यामिक विद्यालय व्यावस्थापन समितिका अध्यक्ष चिन्तन तामाङको अध्यक्षतामा सोमवार बसेको वैठकले प्रधानाध्यापकमा पिठाकोटेलाई नियुक्ती गर्ने निर्णय गरेको हो । पिठाकोटे उक्त विद्यालयमा सहायक प्रधानाध्यापकको रुपमा विगत ६ वर्ष देखी कार्यरत थिए भने मावि इन्चार्जको रुपमा यस अघि १० वर्ष काम गरिसकेका छन् । त्यसैगरी उक्त विद्यालयमा २७ वर्ष देखी कार्यरत शिक्षक चन्द्र तामाङ हिले माविका शिक्षक प्रतिनिधिमा चयन भएका छन् ।
विद्यालाय व्यवस्थापन समितिका अध्यक्ष तामाङका अनुसार यस अघि प्रधानाध्यापकको रुपमा कार्यरत खगेन्द्र आचार्यको उमेरको हदले समयअवधी समाप्त भएकाले नयाँ प्रधानाध्यापकमा पिठाकोटेलाई नियुक्त गरिएको बताए । हिले माध्यामिक विद्यालयमा हाल प्ले ग्रुप देखी कक्षा–१२ सम्म ६ सय ५० भन्दा वढी छात्रछात्राहरु अध्ययन गर्ने गरेका छन् ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्तन तामाङले नयाँ प्रधानाध्यापक पिठाकोटे र शिक्षक प्रतिनिधिमा तामाङ चयन भएसंगै विद्यालयको पठनपाठन राम्रो हुने आशा व्यक्त गरेका छन् । उनले विद्यालयको शैक्षिक प्रशासनलाई चुस्तदुरुस्त राखेर पठापाठन अघि वढाउन अध्यक्ष तामाङले नवनियुक्त प्रधानाध्यापक गणेश पिठाकोटे र शिक्षक प्रतिनिधि चन्द्र तामाङलाई निर्देशन समेत दिएका छन् । नवनियुक्त प्रधानाध्यापक पिठाकोटेले विद्यालयको शैक्षिक उनन्न्वयनको लागि सवै शिक्षक, कर्मचारीहरुसंग समन्वय सहकार्य गरेर आफूले सकेको योगदान गर्ने प्रतवद्धता जनाएका छन् ।
- dhankutapress