धनकुटा प्रेस सम्वाददाता
धनकुटा/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेश समितिले हरेक वर्ष प्रदान गर्दै आएको पहिचान पत्रकारिता पुरस्कार यस वर्ष पनि दुईजना आदिवासी जनजाति पत्रकारलाई ‘पहिचान पत्रकारिता पुरस्कार–०८३‘ बाट पुरस्कृत गरेको छ ।
फोनिजको २७औं स्थापना दिवसको अवसर पारेर मङ्गलबार १ नम्वर प्रदेशको ८औं वार्षिक साधारणसभाको उद्धघाटन सत्रमा एक महिला र एक पुरुष गरि दुईजना क्रियाशिल आदिवासी जनजातिका पत्रकारलाई ‘पहिचान पत्रकारिता पुरस्कार–०८३‘ बाट पुरस्कृत गरिएको हो । स्थापना दिवसको अवसरमा सार्वजनिक सेवा प्रशारण रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटामा कार्यरत विष्णुमाया सिंघक लिम्बू र पाँचथरका अग्रज पत्रकार गणेश साम्पाङ राईलाई पुरस्कृत गरिएको हो ।
उनीहरूलाई जनही दश हजार रुपियाँ राशिको पहिचान पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । फोनिजले विगत वर्षहरुदेखि निरन्तर रुपमा स्थापना दिवसको अवसर पारेर ‘पहिचान पत्रकारिता पुरस्कार‘ वितरण गर्दै आएको छ । पुरस्कृत हुने पत्रकारद्धयलाई कायृक्रमका प्रमुख अतिथि साागुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई, विशेष अतिथि फानिजका संघीय उपाध्यक्ष यमन राई (डोने), राससका निवर्तमान महाप्रवन्धक सिद्धराज राई, फोनिज प्रदेश अध्यक्ष विजयवोध लावती, अग्रज पत्रकार संजयसन्तोषी राई लगायतले नगद पुरस्कार, दोसल्ला, सम्मानपत्र प्रदान गरेका थिए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ १ नम्वर प्रदेश समितिको आयोजना तथा धनकुटा जिल्ला समितिको सह–आयोजनामा सम्पन्न कार्यक्रममा १ नम्वर प्रदेशबाट फोनिज संघीय समिति, किराँत राई पत्रकार र लिम्बू पत्रकार संघमा निर्वाचित तथा नेपाल पत्रकार महासंघका केन्द्र तथा प्रदेश र जिल्लामा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाईसमेत सम्मान गरिएको थियो ।
- dhankutapress