धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटा नगरपालिका वडा नं.–८ स्थित तमोर नदीको किनारमा ढुङ्गामा फसेका एक व्यक्तिको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय युवाहरूको सहयोगमा सकुशल उद्धार गरेका छन् ।
धनकुटा नगरपालिका र सााँगुरीगढी गाउँपालिकाको मिनामा पर्ने तमोर नदी किनारमा रहेको ढुङ्गामा फसेका मोरङको ग्रामथान गाउँपालिका वडा नं.–१ निवासी करिब २९ वर्षीय अर्जुन सरदारको सकुशल उद्धार गरिएको हो । समिनारायण कन्स्ट्रक्सन प्रालिद्वारा रगुवा खोला क्षेत्रमा पुल निर्माणको काममा सम्लग्न सरदार दशैंमा घर जाने क्रममा नदीमा पौडिएर छोटो बाटो हिडेका थिए । किनारमा बाटो नपाएर उनी फसेपछि उद्धार गरिएको हो ।
नदी किनारमा फसेको सूचनाको आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयबासीको सहयोगमा उनलाई सोमवार मध्यरात उद्धार गरिएको प्रहरीले जनाएको छ । दसैंको बिदामा घर जान मुलघाटतर्फ निस्किएका सरदार तमोर नदीमा पौडी खेलेर पारि तरेपछि बाटो नभेटेर अलपत्र परेका थिए । उद्धारपछि सरदारलाई समिनारायण कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि शिवनारायण यादवको जिम्मा लगाइएको छ ।
उद्धारका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीको कमान्डमा १५ जना प्रहरी र सशस्त्र प्रहरी बल नेपाल, धनकुटाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश फुयालको कमान्डमा टोली परिचालन भएको थियो । प्रहरीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको पहलमा स्थानीय युवाको सहयोग लिएर वैकल्पिक बाटो हुँदै उद्धार टोली उनीसम्म पुगेको थियो ।
उनको राति ११ः५८ बजे सरदारलाई सकुशल उद्धार गरिएको प्रहरीको भनाई छ । उद्धार कार्यमा स्थानीय युवा सुमन राई, सुरेश राई, आर्यन याख्खा र दिनेश याख्खाले सहयोग गरेका थिए ।
- dhankutapress