धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटाको साँगुरीगढी गाउँपालिका ७ फेदीबाट प्रहरीले १ हजार २ सय ४० किलो ६ सय ग्राम गाँजासहित एउटा ट्रक बरामद गरेको छ । ट्रकका चालक भने फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार गए राति करिब ११.३० बजे साँगुरीगढी गाउँपालिका–७ फेदीस्थित कोशी लोकमार्गमा मालवाहक ट्रक चेकजाँचका क्रममा गाँजा बरामद गरिएको हो ।
प्रहरी चौकी मूलघाट धनकुटा र सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेसक्याम मूलघाटबाट खटिएको संयुक्त चेकिङ टोलीले धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना. ४ ख ५२७ नम्बरको मालवाहक ट्रक चेकजाँचका लागि रोक्ने क्रममा चालक अचानक ट्रकबाट हामफालेर फरार भएको बताईएको छ ।
चालक फरार भएपछि शंका लागेर ट्रकको चेकजाँच गर्दा ट्रकभित्र लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुाटका प्रवक्ता डीएसपी हेमन्त भण्डारी बताए । ट्रकसहित बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याइएको छ । घटनाबारे आवश्यक थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाएको प्रहरीको भनाई छ । यस्तै फरार मालवाहक ट्रकका चालकको खोजी कार्यसमेत भइरहेको बताईएको छ ।
- dhankutapress