धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटाको महालक्ष्मी नगरपालिका ७ जलजलेस्थित निर्माणधिन नगर अस्पतालको छत ढलाई गर्दा भाईमिटर लगाउने क्रममा करेण्ट लागेर निर्माण व्यवसायीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा संखुवासभाको सिलिचुङ गाउँपालिका घर भई हाल धनकुटाको महालक्ष्मी नगरपालिका ६ लाटी भञ्याङ्गमा बस्दै आएका ४१ वर्षीय राजकुमार राई रहेको प्रहरीले जनाएको छ । राई नगर अस्पताल निर्माणमा साईड पेटी ठेकेदारका रूपमा कार्यरत रहेको सारा सृष्ट्रि निर्माण सेवा प्रा.लि.का प्रवन्धक सन्तवहादुर राईले जानकारी दिएका छन् । महालक्ष्मीको जीतपुर बजारमा लामो समय देखि शहरी सडक तथा भवनहरुको निर्माण कार्य गरिरहेका प्रवन्धक सन्तवहादुर राईले भाईमिटर लगाउँदा पेटी ठेकेदारको मृत्यु भएको बताए । तर, स्थानीय प्रहरीका अनुसार शनिबार साँझ करिब ५ बजे पानी तान्ने मोटरबाट करेन्ट सर्ट हुँदा राई गम्भीर घाइते भएका थिए । उनलाई तत्काल जितपुरस्थित स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको थियो । घटनाबारे साँझ ५ः४५ बजे जानकारी प्राप्त भएपछि प्रहरी चौकी जितपुरबाट प्रहरी नायब निरीक्षक इन्द्रबहादुर मगरको कमाण्डमा ६ जनाको टोली घटनास्थलमा पुगेको थियो । घटनास्थल प्रहरी चौकी जितपुरबाट करिब ४ सय मिटर दक्षिणमा पर्छ ।
उपचारको क्रममा पेठी ठेकेदार राईलाई साँझ ७ः३५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । कानुनी प्रक्रिया तथा पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटातर्फ पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्ष नारायण रञ्जितकारले जानकारी दिए ।
- dhankutapress