Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)

  •   २ महिना अघि | २६ भदौ २०८३, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/भारी बर्षा शुरु भएसँगै धनकुटाको साँगुरीगढी गाउँपालिकाका १ सय २० परिवार पहिरोको उच्च जोखिममा परेका छन् । पहिरोको जोखिम र बगाउने त्रासका कारण यस क्षेत्रका एक दर्जनभन्दा बढी परिवार विस्थापित भइसकेका छन् ।

साँगुरीगढी गाउँपालिका–७ स्थित डढुवा गाउँ ठूलो पहिरोको जोखिमको एउटा उदाहरण हो । करिब २७ परिवारको बसोबास रहेको यो गाउँको दुवैतर्फ पहिरो गएको छ । स्थानीयका अनुसार पूर्वतर्फको पहिरो २०५६ सालदेखि सुरु भएको हो । पहिरो बढ्दै गएपछि यसअघि नै ७ परिवार गाउँबाट विस्थापित भइसकेका छन् । पछिल्लो समय पूर्वतर्फको पहिरो केही नियन्त्रणमा आए पनि गाउँलेको ज्यान सुरक्षाको जोखिम भने हटेको छैन ।यस्तै वि.सं.२०७५ सालदेखि डडुवा गाउँको पश्चिमतर्फ अर्को पहिरो सुरु भएपछि स्थानीयको चिन्ता थपिएको थियो । अहिले आएर पश्चिमतर्फको पहिरोका कारण केही परिवार विस्थापित भइसकेका छन् भने केही परिवार जुनसुकै बेला घर छाड्नुपर्ने अवस्थामा पुगेका छन् । भिरालो जमिन, गाउँको दुवैतर्फ रहेका खोल्सा तथा कमेरे खोलाले जमिन कटान गर्दै लगेपछि पहिरो फैलिँदै गएको स्थानीयवासी जिते राईले बताए । वर्षाको समयमा पानीको बहाव बढ्दा पहिरो अझ सक्रिय हुने भएकाले हरेक वर्ष वर्षायामलाई त्रासका रुपमा सामना गर्दै आएको राईको भनाइ छ । राईका अनुसार सुख्खा पहिरोको कारणले गर्दा पनि जोखिम उस्तै रहेको छ । त्यहाँका वासिन्दालाई वर्षा नहुँदा पनि सुख्खा पहिरो गइरहने समस्याले गर्दा जोखिम उत्तिकै हुने गरेको छ ।डढुवा गाउँको अवस्था साँगुरीगढीका अन्य बस्तीको भन्दा फरक छैन । १० वटा वडा रहेको गाउँपालिकाका धेरै स्थान पहिरोको जोखिममा छन् । गाउँपालिकाका इन्जिनियर दिपक राईका अनुसार तुलनात्मक रुपमा वडा नं. १, ५, ६, ७ र ८ मा पहिरोको समस्या बढी देखिएको छ । गाउँपालिकाले संकलन गरेको विवरण अनुसार अहिले गाउँपालिकाभरि करिब १ सय २० परिवार पहिरोको जोखिममा रहेका छन् । जसमा एक दर्जनभन्दा बढी परिवार विस्थापित भइसकेका छन् भने केही विस्थापित हुने अवस्थामा रहेका छन् ।पहिरोले घर जोखिममा परेपछि विस्थापित भएका परिवारका लागि नयाँ ठाउँमा बसोबासको व्यवस्था गर्नु चुनौतीपूर्ण छ । खेतीपातीमा निर्भर परिवारका लागि घरसँगै खेतबारीसमेत छाड्नुपर्ने अवस्था आउँदा उनीहरुको जीविकोपार्जनमा समेत असर पुग्ने गरेको छ । गाउँपालिकाले अति जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ । तर भौगोलिक विकटता, सीमित स्रोतसाधन र उपयुक्त सुरक्षित स्थानको अभावका कारण जोखिममा रहेका सबै परिवारलाई तत्काल स्थानान्तरण गर्न सहज नभएको गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए । उनले मुक्तेन गाउँका २४ घर अति जोखिममा रहेको बताए । पहिरोवाट बच्न सुरक्षित ठाउँको लागि जस्को जग्गा छ, उनीहरुलाई सार्ने तयारी भैरहेको छ । जसको जग्गा सुरक्षित ठाउँमा छैन, जहाँ वस्यो त्यहि मात्र छ अथवा सुरक्षित ठाउँमा जमिन नभएकाहरुका लागि ठूलो समश्या भईरहेको अध्यक्ष रुम्दालीको भनाई छ । पहिरोको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले विभिन्न प्रयास गरिरहेको अध्यक्ष रुम्दाली राईको भनाइ छ । पहिरो तथा भूक्षय रोक्न जोखिमयुक्त क्षेत्रमा वृक्षरोपण गर्ने, पर्खाल लगाउने लगायतका काम भइरहेको गाउँपालिकाको भनाइ छ । गाउँपालिका अध्यक्ष राईका अनुसार जोखिमको वास्तविक अवस्था पहिचान गर्न भूगोलविद्सहितको टोलीमार्फत प्रभावित क्षेत्रको अध्ययन गराइएको छ । अध्ययनबाट प्राप्त विवरणका आधारमा जोखिम न्यूनीकरण र प्रभावित परिवारको सुरक्षाका लागि आवश्यक योजना बनाउने प्रयास भइरहेको छ । त्यसैगरी, पहिरोबाट अति प्रभावित परिवारलाई स्थानान्तरण गर्ने प्रक्रिया पनि अगाडि बढाइएको छ । तर, प्रदेश र संघीय सरकारको बेवास्ताका कारण ढिलाइ भएको गाउँपालिका अध्यक्ष राईले आरोप लगाएका छन् ।

कमजोर भूगोल र अव्यवस्थित सडक :साँगुरीगढीमा पहिरोको समस्या प्राकृतिक तथा मानवीय दुवै कारणसँग जोडिएको छ । कच्चा पहाड, भिरालो जमिन तथा खोलानालाको कटानका कारण यहाँको जमिन पहिरोको जोखिममा परेको हो । यस्तै पछिल्लो समय जथाभावी खनिएका सडकले पनि जोखिम थप बढाएको इन्जिनियर राईको भनाइ छ । सडक निर्माणका क्रममा पहाड काट्दा जमिनको प्राकृतिक सन्तुलन बिग्रिने र वर्षाको पानीको निकास व्यवस्थित नहुँदा सडक आसपासका क्षेत्रमा भूक्षय तथा पहिरो जाने गरेको प्राविधिक राईले बताए ।

धनकुटाको दक्षिणी क्षेत्रमा पर्ने साँगुरीगढी गाउँपालिका महाभारत पर्वत शृंखलाको क्षेत्रमा अवस्थित रहेको छ । यहाँको भू–बनोट जिल्लाका माथिल्ला पहाडी क्षेत्रको तुलनामा कमजोर रहेको इन्जिनियर राईले बताए । प्राकृतिक रूपमा कमजोर भू–भागमा अव्यवस्थित सडक निर्माण र पानीको उचित व्यवस्थापन नहुँदा पहिरोको समस्या थप जटिल बन्दै गएको उनी बताउँछन् ।

  • dhankutapress

थप