धनकुटा प्रेस सम्वाददाता
धनकुटा/प्रदेश नं.१ मा लिम्वु, मैथली लगायत १३ वटा मातृभाषा सरकारी कामकाजी भाषा बनाउने प्रदेश सरकारको निर्णय भएपछि प्रदेशभरी खुशियाली मनाइएको छ । मातृभाषालाई सरकारी कामकाजमा प्रयोग गर्न सकिने विधेयक पारित भएपछि नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद काठमाण्डौं लगायत विभिन्न पहिचानवादी राजनीतिक पार्टी एवं समाजिक संघ सस्थाहरुले स्वागत गरेका छन् ।
कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक २०८३ पारित हुनुलाई भाषिक समनता, मातृभाषाको संरक्षण र समावेशी शासन प्रणालीको विकासको लागि महत्वपूर्ण उपलव्धी मानिएको छ । प्रदेशको वहुभाषिक, वहुसाँस्कृतिक र वहुजातीय पहिचानलाई राज्यको नीति कानुन तथा शासन प्रणालीमा संस्थागत गर्ने दिशामा विधेयक पारित हुनु सकरात्मक भएको नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषदका अध्यक्ष निमा लामाले प्रतिक्रिया दिएका छन् । प्रदेश सरकारले लिम्वू, मैथली लागयत विभिन्न १३ वटा मातृभाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्ने भनी विधेयक पारित गरेको छ । तर, प्रदेश १ मा भाषा आयोगले भने लिम्वू र मैथली भाषालाई मात्र प्रदेशमा सरकारी कामकाजी भाषा बनाउन सिफारिस गरेको थियो ।
यसैविच नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नं.१ समन्वय परिषदले पनि मातृभाषालाई सरकारी कामकाजमा प्रयोग गर्न सकिने विधेयक प्रदेश नं.१ को प्रदेश सभामा पारित भएपछि स्वागत गरेको छ । नेफिन प्रदेश अध्यक्ष ध्रुर्व सुब्बाले प्रदेश सरकारको मातृभाषालाई सरकारी कामकाजी भाषा वनाउने विधेयक पारित गरेकोमा प्रदेश सरकारलाई धन्यवाद दिएका छन् । यसैगरी कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक २०८३ पारित भएपछि यस प्रदेशमा रहेको पहिचानवादी राजनीतिक दलहरुले पनि यो निर्णयलाई स्वागत गरेका छन् ।
प्रदेश सरकारको निर्णयलाई स्वागत गर्दै उनीहरुले दिपप्रज्वलन गरेर बर्षौ देखिको आफ्नो माग र मुद्धालाई कार्यान्वयन गर्न प्रदेश सरकार लागेको भन्दै खुशीयाली मनाएका छन् । विशेष गरेर प्रदेश नं.१ को विभिन्न जिल्लाहरुमा क्रियाशिल रहेका एकल जातिय संस्थाहरुले पनि दिप प्रज्वनल गरेका छन् ।
यसैविच धनकुटामा पनि आज मंगलवार साँझ किराँत याक्थुङ्ग चुम्लुङ्ग चौविसे गाउँपालिका कार्य समितिले राजारानी वजारमा दिप प्रज्वलन गर्ने जनाएको छ । त्यसैगरी जनता समाजवादी पार्टी नेपालको चौविसे गाउँशाखाले पनि राजारानीमा किराँत याक्थुङ्ग चुम्लुङ्गसंग मिलेर दिप प्रज्वलन गर्ने जसपा नेपाल जिल्ला अध्यक्ष दिवा चेम्जोङ्गले जानकारी दिएका छन् । जिल्ला सदरमुकाम धनकुटामा पनि दिप प्रज्वलन गर्ने कार्यक्रम केहि दिनमा तय गरिने कियाचु धनकुटा अध्यक्ष हेम आङ्गलाले जानकारी दिएका छन् । प्रदेश १ मा हालै पारित भएको भाषा विधेयकको निर्णयलाई सर्वत्र यहाँ आदिवासी जनजातिहरु र पहिचानवादी दलहरुले दिल खुलाएरै स्वागत गरेको पाइएको छ ।
प्रदेश नं. १ को सरकारी कामकाजको भाषा विधेयकले मैथिली, लिम्बू, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, राई, नेवार, चाम्लिङ, शेर्पा र सन्थाल गरी १३ भाषालाई तिनका मौलिक लिपिसहित सरकारी कामकाजमा प्रयोग गर्ने व्यवस्था गरेको छ । यो केवल भाषाको मान्यता होइन, भाषा, संस्कृति, इतिहास, पहिचान र समुदायको आत्मसम्मानलाई संस्थागत गर्ने महत्वपूर्ण कदम हो। भाषिक विविधता विभाजनको आधार होइन, हाम्रो साझा समृद्धिको शक्ति हो। सबै भाषा, सबै पहिचान र सबै समुदायको सम्मानबाटै समानतामूलक, समावेशी र न्यायपूर्ण समाज निर्माण हुन्छ भनिएको छ ।
- dhankutapress