धनकुटा प्रेस सम्वाददाता
धनकुटा/गृहमन्त्री सुधन गुरुङ्गले प्रहरी प्रशासनले आम सेवाग्रहीलाई दिने सेवा छिटोछरितो र चुस्तदुरुस्त राख्न धनकुटा जिल्लाका सुरक्षा निकायका प्रमुखहरुलाई आइतबार निर्देशन दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनकुटाको निरिक्षण गर्ने क्रममा धनकुटा आईपुगेका गृहमन्त्री गुरुङ्गले यस्तो निर्देशन दिएका हुन् । सोही क्रममा मन्त्री गुरुङ्गले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा लगायत तिनै तहका सुरक्षा निकायका प्रमुखहरु, विभिन्न सरकारी कार्यालयका प्रमुखहरु एवं राष्ट्रसेवक कर्मचारीहरुलाई संयुक्त रुपमा निर्देशन दिएका हुन् ।
गृहमन्त्री गुरुङ्गले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको विशेष गरेर मुद्धा फाँट लगायत अन्य प्रत्यक्ष सुशासन र न्याय सम्पादनसंग जनसरोकार राख्ने शाखाहरुमा विशेष निगरानी एवं निरिक्षण गरेका छन् । निरिक्षणको क्रममा मन्त्री गुरुङ्गले कार्य सम्पादन भइरहेको शाखाहरुमा सेवाग्राहीलाई फोन गर्न लगाएर प्रहरी र कर्मचारीहरुले निर्वाह गरेको भूमिका र नागरिकलाई दिईने सेवा प्रवाहका बारेमा प्रत्यक्ष रुपमा जानकारी लिएका थिए ।
गृहमन्त्री गुरुङ्गको वडा मावली गाउँ धनकुटा भएको र बाल्यकालामा प्राथामिक तहको शिक्षा स्थानिय बालसंसार आवशिय मावि धनकुटा–६ मा लिएका थिए । सोही क्रममा उनले धनकुटामा रहेको बाल्यकालका साथीभाईहरुसंग सेल्फी खिच्न र पूर्वको पवित्र मन्दिर निशान भगवती मन्दिरको दर्शन साथै पुजाअर्चना समेत गरेका थिए । साथै, धनकुटा–५ तल्लो टुढिखेल नजिक रहेको वडा मावली घरमा आफन्तहरुसंग भेटघाट समेत गरेका थिए ।
- dhankutapress