धनकुटा प्रेस सम्वाददाता
काठमाण्डौं/‘समृद्धिको आधार : पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ ।
सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा आयोजित तीनदिने सम्मेलनको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सोमबार उद्घाटन गरे ।
समारोहलाई सम्बोधन गर्दै मन्त्री गौतमले लोकतन्त्रलाई बलियो बनाउन मातृभाषा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताईन। राज्यका सूचना नागरिकले आफ्नै मातृभाषामा प्राप्त गर्न पाउने अवस्था लोकतन्त्रका लागि आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका संसद सुरेन्द्र चौधरी, ठाकुरसिंह थारु, नेपाली कांग्रेसका निश्कल राई, नेकपा एमालेका सांसद क्षितिज थेवे लगायत राजनीति दल, पत्रकार जन्य संगठनका प्रमुखहरुको उपस्थिति रहेको छ ।
आजबाट साउन २७ गतेसम्म हुने सम्मेलनबाट देशभरीबाट ३ सयभन्दा धेरै आदिवासी तथा मातृभाषी पत्रकारहरुको सहभागिता रहेको उक्त सम्मेलनमा २७ देशका ५४ विदेशी पत्रकारहरुको समेत सहभागिता रहने फोनिजका संघीय अध्यक्ष लक्की चौधरीले बताए । सो अवसरमा फोनिजले प्रकाशन गरेको स्मारिका समेत विमोचन गरिएको थियो ।
- dhankutapress