धनकुटा प्रेस सम्वाददाता
धरान/धरानमा दुईदिवसीय विजयपुर सम्मेलन भर्खरै सुरु भएको छ। धरान–लाङ्घाली सामुदायिक वनको भवनमा आयोजना भइरहेको सम्मेलनमा पूर्वका विभिन्न क्षेत्रबाट याक्थुङ (लिम्बू) बुद्धिजीवी, इतिहासविद् तथा सरोकारवालाहरू सहभागी हुने क्रम जारी छ।
सम्मेलनमा लिम्बुवान र विजयपुरको ऐतिहासिकता, संस्कृति तथा पहिचानसँग सम्बन्धित विषयमा केन्द्रित छलफल तथा कार्यपत्र प्रस्तुति हुने आयोजकले जनाएको छ।
सम्मेलनमा विभिन्न विषयमा ८ जना वक्ताले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। कार्यपत्रमार्फत विजयपुरको ऐतिहासिक पृष्ठभूमि, लिम्बुवानको इतिहास, सभ्यता, संस्कृति तथा वर्तमान सन्दर्भमा यसको महत्वबारे बहस तथा विमर्श गरिने बताइएको छ।
ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको विजयपुर क्षेत्रको इतिहासलाई दस्तावेजीकरण गर्दै आगामी पुस्तासम्म पुर्याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकको भनाइ छ।
सम्मेलनमा पूर्वका विभिन्न जिल्लाबाट याक्थुङ बुद्धिजीवी तथा सम्बन्धित क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको छ। दुई दिनसम्म चल्ने सम्मेलनमा कार्यपत्र प्रस्तुति, छलफल र अन्तरक्रियासहित विभिन्न कार्यक्रम हुनेछन्।
- dhankutapress