धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटामा एक वर्ष देखि पाँच वर्ष उमेर समूहका बालबालिकाहरुलाई स्वर्णविन्दु प्राशन गराउन आइतवार देखि सुरु गरिएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाले पुष्य नक्षत्रको अवसर पारेर पहिलोपटक स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन गरेको हो । अब हरेक महिनाको पुष्य नक्षत्रका दिन बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउने तयारी गरिएको केन्द्रले जनाएको छ ।
कार्यक्रमको उद्धघाटन कोशी प्रदेशका माननीय स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले गरे । आयुर्वेदिक मान्यताअनुसार स्वर्णविन्दु प्राशनले बालबालिकाको शारीरिक तथा मानसिक विकास, स्मरण शक्ति र रोग प्रतिरोधात्मक क्षमता विकासमा सहयोग पुग्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाकी प्रमुख डा. विद्या श्रेष्ठले बताईन ।
सुनको भस्म, मह र घिउको मिश्रणबाट स्वर्णविन्दु तयार गरीने डा. विद्या श्रेष्ठले बताईन । झन्डै पाँच हजार वर्ष पुरानो काश्यप संहितामा समेत स्वर्ण विन्दु प्राशनको विधि उल्लेख रहेको आयुर्वेद कित्सकहरूको भनाइ छ । धनकुटामा पहिलो पटक सञ्चालन गरिएको कार्यक्रममा हालसम्म एक सय ५० जना बालबालिका स्वर्णविन्दु प्राशनका लागि दर्ता भइसकेका डा. श्रेष्ठले जानकारी दिईन ।
- dhankutapress