धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटा नगरपालिकामा इको–प्रविधि र परम्परागत ज्ञान मार्फत सीपको प्रयोग मार्फत आठपहरिया समुदायलाई पुनर्जिबन तथा जिविकोपार्जन सुधृढिकरण परियोजना (राइसे) को समापनसंगै वुधवार प्रगती समिक्षा गरिएको छ ।
परियोजना समापन तथा समिक्षा कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाको प्रमुख चिन्तन तामाङले इसिमोड र विशेष गरेर परियोजना विज्ञ डा. नविन भट्टराईलाइ धन्यवाद दिए । उनले इसिमोड, युएनडिपि लगायत विभिन्न दातृ निकायको सहयोगमा धनकुटा नगरवासीलाई नयाँ नयाँ ज्ञानसीपको विकास गरि आर्थिक उपार्जन गर्न धेरै सहयोग गरेको भन्दै खुशी व्यक्त गरे । उनले निवुवा तांखुवा जलधार क्षेत्र संरक्षणको लागि सहभागितामुलक जलधार सुशासन अभ्यासको लागि धनकुटा नगरपालिकाले अन्तराष्ट्रिय अवार्ड पाउनुमा इसिमोडलाई नै श्रेय जाने बताए ।
उनले धनकुटा नगरमा अझै पनि ११ प्रतिसत गरिवीका रेखामुनी रहेका वर्गको जीवन स्तर उकास्न परियोजनाले टेवा पुगेको बताए । धनकुटा नगरपालिकामा गरिवीका रेखामुनी रहेका नागरिकको जीवन स्तर कसरी उठाउने भनेर जनताको जीवन बचाउने काममा निरन्तर लागि रहेको नगर प्रमुख तामाङले दावी गरे
समिक्षा तथा परियोजना समापन कार्यक्रममा विज्ञ डा. नबिन भट्टराईले परियोजना अवधिमा गरिएका क्रियाकलापहरुको बारेमा एक प्रश्तुती मार्फत जानकारी गराएका थिए । सन २०२५ को नोमेम्बरबाट पाईलट परियोजनाको रुपमा धनकुटा नगरपालिका वडा नं.८ मा शुरु भएको परियोजनाको करिव १० महिनाको अवधिमा भए गरेका सम्पन्न योजनाहरुको जानकारी समिक्षा कार्यक्रममा दिइएको थियो । परियोजना संचालन गर्ने क्रममा वर्षाको पानी संकलन गर्ने तरिका र सोइल सिमेण्ट पोखरी निर्माण गर्न तालिम, धनपा–८ टेकुनालामा वर्षाको पानी संकलन गर्ने प्रविधिको स्थापना, सोइल सिमेण्ट प्रविधिको पोखरी बनाउने तालिम ५० जनालाई दिइएको थियो
त्यसैगरी ५० घरपरिवारलाई जिवातु झोलमल तथा बाँदर भगाउने मल बनाउने तालिम, जिवातुको खेती प्रवद्र्धन सम्वन्धी सहयोग तथा तालिम, समुदायमा माछापालन पोखरी निर्माण तथा माछाको भुरा बितरण, नयाँ÷नयाँ र परम्परागत ज्ञानसीपबाट कसरी आय आर्जन गर्न सकिन्छ भनेर स्थलगत अबलोकन भ्रमणका लागि समुदायका अगुवाहरुलाई मकवानपुरको हेटौडासम्म लगिएको थियो ।
त्यसैगरी चुलिवन सामुदायिक वन उपभोक्ता समुहसंग मिलेर समुदायमा आधारित कृषि पर्यटन प्याकेजको विकास र परिक्षण गर्ने, भू–जल पुनर्भरण गर्न खाल्डाहरु बनाउने तालिम र मानव वन्यजन्तु द्धन्द्ध न्यूनिरकण गर्ने उपायहरुको कार्यान्वयनको बारेमा सहजीकरण गरिएको उल्लेख छ ।
प्रश्तुत् विषयवस्तु माथि परियोजना समापन तथा समिक्षा कार्यक्रममा भू–तथा जलधार व्यवस्थापन कार्यालयका प्रमुख गंगाराम साहुले परियोजनामा आफ्नो कार्यालयसंग पनि समन्वय, सहकार्य गरेर काम गर्न पाएको भन्दै हुसाडेक नेपाल, धनकुटा नगरपालिका र परियोजनाको सिङ्गो टिमलाई धन्यवाद् दिए ।
उनले आगामी दिनमा संचालन हुने परियोजनामा पनि कार्यालयसंग सक्दो समन्वय सहकार्यको लागि अनुरोध गरे । त्यसैगरी धनपा वडा नं.८ का वडाध्यक्ष सरवहादुर आठपहरियाले ग्रामिण क्षेत्रका बासिन्दाले ९/१० महिना संचालन भएको परियोजनाबाट प्रत्यक्ष रुपमा लाभ पुगेको बताए । उनले विशेष गरेर आर्थिक रुपमा विपन्न समुदायले धेरै सिप सिक्ने अवसर पाएकोमा वडाको तर्फबाट परियोजनालाई धन्यवाद दिदै खुशी व्यक्त गरेका छन् ।
हुसाडेक नेपाल धनकुटाका अध्यक्ष खेम थापाको अध्यक्षतामा सम्पन्न समिक्षा कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भूपेन्द्र साप्कोटा, डिभिजन वन कार्यालय धनकुटाका प्रतिनिधि अमृतविलास पन्त, नेपाल पत्रकार महासंघका अध्यक्ष विदुर खवास, लाभग्रही समुदायको तर्फबाट सुनिता आठपहरिया लगायतले सुझाव, सल्लाह र जिज्ञासा राखेका थिए । कार्यक्रममा परियोजनाले धनकुटामा स्थापना गरेको रैथाने बालीहरुको जीन वैंक धनकुटा नगरपालिका कार्यालयलाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरण पत्रमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र हुसाडेक नेपालका अध्यक्ष खेम थापाले हस्ताक्षर गरेका छन् ।
करिव ९ महिना अघि धनकुटा नगरपालिका वडा नं.८ का आठपहरिया समुदायलाई लक्षित गरेर सुख्खाग्रस्त क्षेत्रमा खानेपानीको अभाव परिपुर्ति गर्ने, अर्गानिक कृषिखेतीमा आत्मनिर्भर बनाउने उदेश्यले परियोजना छनौट गरिएको थियो । परियोजना सकिए पनि कार्यक्रमले निरन्तरता पाउने हुसाडेक नेपाल धनकुटाले जनाएको छ ।
- dhankutapress