पञ्चमाया तामाङ
धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटामा सोमवार सम्पन्न पाँचौ संस्करणको सहिद रामकृष्ण श्रेष्ठ महिला फुटबल प्रतियोगिताको उपाधि चौविसे गाउँपालिकाले हात पारेको छ ।
जितसँगै सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा भएको पाँचौ धनकुटा जिल्ला महिला फुटबल प्रतियोगिता सकिएको छ । धनकुटाको तल्लो टुढिखेलमा पाख्रीवास नगरपालिका र चौबिसे गाउँपालिकाबीच भएको फाइनलमा चौविसे गाउँपालिका ०–२ गोलको अन्तरले विजयी हुँदै पाँचौ संस्करणको सहिद रामकृष्ण श्रेष्ठ धनकुटा जिल्ला महिला फुटबल प्रतियोगिताको उपाधी चौविसे गाउँपालिकाले हात पार्न सफल भएको हो ।
धनकुटाको तल्लो टुढिखेलमा भएको फाइनल खेलमा चौविसे महिला फुटवल क्लबका भुमिका मगर र सुशीला मगरले समान १/१ गोल गरेका थिए । जीतसँगै चौविसे गाउँपालिकाको महिला फुटवल क्लबले नगद ६० हजार रुपैयाँसहित ट्रफी र मेडल हात पारेको छ भने उपविजेता पाख्रिबास नगरपालिकाले नगर ३० हजार रुपैयाँसहित ट्रफी र मेडल हात पारेको प्रतियोगिता संयोजक गोविन्द राईले बताए
सो प्रतियोगितामा विधागततर्फ बेष्ट फरवर्डमा चौविसेकी भुमिका मगर, वेष्ठ मिड फिल्डमा पाख्रिबासकी किम गुरुङ, बेष्ट डिफेन्समा चौविसेकी समिक्षा घिमिरे, बेष्ट कोचमा चौविसेका रुपनलाल चेम्जोङ र बेष्ट किपरमा पाख्रिबासकी भावना मगर घोषित भए । उनीहरुले सम्मान स्वरुप २/२ हजार नगद प्राप्त गरेका छन् ।
सो प्रतियोगिताका विजेताहरुलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, चौविसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ, सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष इश्वर श्रेष्ठ अकेला, उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई लगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे । प्रतियोगितामा धनकुटा जिल्लाका ७ पालिका मध्ये ५ वटा पालिकाको महिला फुटवल टिमले सहभागिता जनाएको थियो ।
- dhankutapress