धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटामा जारी सहिद भीमनारायण गोल्डकपमा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानले सेमिफाइनल यात्रा तय गरेको छ ।
धनकुटाको तल्लो टुँडिखेलमा सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा आयोजकले भारतको जर्जियन फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो । खेलको सुरुवात भने आयोजकका लागि सहज थिएन । १६औँ मिनेटमा जर्जियन फुटबल क्लबका कुञ्जमान थापाले गोल गर्दै टोलीलाई अग्रता दिलाएपछि आयोजक दबाबमा परेको थियो ।
तर घरेलु समर्थकको साथ पाएको आयोजकले पुनरागमन गर्यो । खेलको ३४औँ मिनेटमा प्रतिस थापा मगरले बराबरी गोल गर्दै खेललाई नयाँ मोडमा पुर्याए । दोस्रो हाफमा आयोजकले खेल नियन्त्रणमा लिन सफल भयो । ५६औँ मिनेटमा विपिन जबेगुले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाए र अन्ततः त्यही गोल जितको आधार बन्यो । जर्जियन फुटबल क्लबले खेलभर केही राम्रो अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । खेलको अन्तिम समयमा टोलीको निराशा अनुशासनमा पनि देखियो । खेलको ९० औँ मिनेटमा जर्जियनका प्रवेश रोयले मुख्य रेफ्री मनीष अधिकारी माथि असन्तुष्टि जनाउँदै हात हालेपछि रातो कार्ड पाए र टोली १० खेलाडीमा सीमित बन्यो ।
प्रतियोगितामा प्रतिस्पर्धा जति तीव्र हुँदै गएको छ, खेल अनुशासन पनि उत्तिकै महत्ववपूर्ण देखिएको छ । निर्णायक समयमा संयमता गुमाउँदा नतिजामा असर पर्ने उदाहरण मंगलबारको खेल बनेको छ । खेलको म्यान अफ द म्याच आयोजकका विशाल भण्डारी घोषित भए । उनले नगद ६ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । अब बुधबार पहिलो चरणको अन्तिम खेलमा बेलबारी फुटबल क्लब मोरङ र सातदोबाटो फुटबल क्लब ललितपुरबीच आमनेसामुने हुनेछ। यस अघि सिराहाको सलहेश फुटबल क्लब र झापाको विर्तामोड युनाइटेड क्लबले सेमिफाइनल यात्रा तय गरिसकेका छन । जेठ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन । प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ।
- dhankutapress