धनकुटा प्रेस सम्वाददाता
धनकुटा/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै धनकुटामा क्रियाशिल पत्रकारहरूका लागि निर्वाचन आचारसंहिता सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोग, नेपाल पत्रकार महासंघ धनकुटा शाखाको आयोजना र नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सहकार्यमा तालिम सञ्चालन गरिएको हो ।
तालिममा निर्वाचन अवधिमा तयार गरिने समाचार सामग्रीको प्रकृति, आचारसंहिताको पालना भएनभएको अनुगमन, उम्मेदवारहरूको प्रोफाइल प्रस्तुति, घोषणापत्रको समीक्षा लगायत विषयमा विस्तृत छलफल गरिएको थियो । साथै चुनावी खर्चमा पारदर्शिता, भोजभतेर, चुनावी खर्चको स्रोत, सरकारी स्रोत–साधनको दुरुपयोग जस्ता विषयलाई समाचारमा कसरी समेट्ने भन्नेबारे सहभागी पत्रकारहरूलाई जानकारी गराइएको थियो ।
तालिममा धनकुटाका निर्वाचन अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले सञ्चारमाध्यम र सञ्चारकर्मीले पालना गर्नुपर्ने आचारसंहिताबारे जानकारी गराएका थिए । उनले आचारसंहिता उल्लंघनका घटनाको नियमित अनुगमन भइरहेको र उल्लंघन भएमा कानुनी कारबाही हुने स्पष्ट पारे ।
त्यसैगरी, निर्वाचन आयोगले धनकुटा जिल्लामा गरिरहेको तयारीबारेमा जिल्ला निर्वाचन अधिकारी माधव प्रसाद अधिकारीले जानकारी गराएका थिए । उनले स्वच्छ, निष्पक्ष र पारदर्शी निर्वाचनका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखाका अध्यक्ष विदुर खवासले पत्रकारहरूले संयमता अपनाउँदै सत्य,तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । निर्वाचन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार पत्रकारिता गर्न उनले आग्रह गरे । कार्यक्रममा पत्रकारहरुले आचारसंहिता उल्लघंनका विषयमा निर्वाचन आयोगले सबैलाई सम्मान व्यबहार गर्नुपर्ने धारणा राखेका थिए ।
- dhankutapress