धनकुटा प्रेस सम्वाददाता
धनकुटा/मर्यादित सहकारी समुन्नत समाज भन्ने नाराका साथ बुधबार ६८ औं राष्ट्रिय सहकारी दिवस धनकुटामा भव्य रुपमा मनाइएको छ ।
सोही अवसरमा धनकुटामा प्रभात फेरि आयोजना गरिएको छ । ६८औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को उपलक्ष्यमा जिल्ला सहकारी संघ धनकुटाले प्रभात फेरीको आयोजना गरेको हो । प्रभात फेरीका सहभागीहरुले सहकारीमा सुशासन, स्वाधीन अर्थतन्त्रका लागि सहकारी, मर्यादित श्रम र पर्यटनमा सहकारी लेखिएका प्लेकार्ड बोकेका थिए।
प्रभात फेरि धनकुटा सदमुकामको मदन चौकबाट सुरू भएर हुलाकटोल, भीमनारायण चौक हुँदै श्रीपन्चमी पार्कमा पुगेर सभामा परिणत भएको थियो । सभामा श्रपिञ्चमी पार्कमा रहेका १३ जना अनाथ बालबालिकालाई स्टेशनरि तथा फलफूल वितरण गरिएको थियो । यस्तै सभाका वत्ताहरुले सहकारी दिवसमा भनिएको मर्यादित सहकारी समुन्नत समाज नारा अनुसार सहकारीहरु सञ्चालन हुनुपर्ने बताएका छन् । उनीहरुले सहकारीमा बचत अपचलन देखिका विभिन्न समस्याहरु बाहिर आइरहेकाले त्यस्तो हुन नदिन सबै सरोकारवाला पक्ष संवेदनशील हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल लगायतले धारणा राखे । धनकुटामा बचत तथा ऋण, दुग्ध, पर्यटन, बहुउद्देश्यीय, कृषि, कर्मचारी, शिक्षक र विद्युतलगायत ३ सय २० सहकारी संस्था संचालनमा रहेको जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र प्रसाद सुवेदीले जानकारी दिए ।
- dhankutapress