धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटामा जन्मेर वेलायतमा कर्मथलो बनाई समाजसेवा गरिरहेका विश्वास दीप तिगेलाले धनकुटाको हात्तिखर्कमा आफूले अध्ययन गरेको विद्यालयलाई जग्गा खरिद गरेर, खेलमैदान, कार्यक्रम गर्ने स्टेज भवन बनाई मंगलवार हस्तान्तरण गरेका छन् ।
पछिल्लो समय वेलायतमा बस्दै आएका तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई पटक÷पटक सहयोग गदै आएका छन । भारती माध्यमिक विद्यालय छथर जोरपाटी १, धनकुटालाई यसपटक ५ लाख खर्चगरि खेलमैदानको आकारलाई बढाउने, खेलमैदानमा स्थायी पक्की कार्यक्रम गर्ने मञ्च भवन निर्माण गरि दिएका छन् । त्यसैगरी उनले प्रवेश गेटमा फलामको ढोका, खेलमैदानको वरिवरि तारजाली समेत लगाइ दिएका छन् । एक औपचारिक कार्यक्रममा दाता तिगेला र धर्मपत्नि भोजकुमारी थोक्लेनले संयुक्त रुपमा विद्यालय संचालक समितिका अध्यक्ष होमकुमार लिम्बु र विद्यालयको प्रधानध्यापक भिमबहादुर लिम्बुलाई हस्तान्तरण गरेका हुन ।
तिगेलाले सो जग्गा वि.स. २०६९ मा १ लाख ३८ हजारमा किनेर विद्यालयलाई दिएका थिए । विद्यालयलाई उच्च माध्यमिक विद्यालय बनाउनको निमिक्त वि.स. २०६६ मा ५० हजार नगद समेत प्रदान गरेका थिए । उनी त्यो बेला भारती माविलाई उच्च मावि बनाउन सहयोग जुटाउने मध्ये सबैभन्दा ठूलो दाता समेत घोशित भएका थिए । विद्यालय ब्यवस्थापन समितिले दाता तिगेलाले जग्गा किनेर, निर्माण गरिएको दिएको खेलमैदानको नाम ‘विश्वास दीप तिगेला खेलमैदान’ नामाकरण गरेका छन ।
खेलमैदान र कार्यक्रम स्टेज भवनको उद्धघाटन छथर जोरपाटी गाँउपालिकाकी उपाध्यक्ष गिता खेवाले गरेकी थिइन । उपाध्यक्ष खेवाले दाता तिगेलाप्रति आभार ब्यक्त गरिन । साथै, उनले बनेको खेलमैदानमा बार्षिक रुपमा खेलकुद आयोजना गर्न आफूले पालिका मार्फत पहल गर्ने प्रतिबद्धता समेत जनाईन । त्यस्तै गरि वडा नं. १ का अध्यक्ष गोविन्द लिम्बुले विद्यालयलाई साच्चीकै आवश्यकता परेको बखत जग्गा किनिदिनु हुने दाँता प्रति आभार ब्यक्त गरे । विद्यालयका प्रधानाध्यापक भिमबहादुर लिम्बुले हस्तान्तरण समारोहमा उपस्थित सबैलाई स्वागत गर्दै विद्यालयको समस्या र आवश्यकताको चर्चा गर्दै दाता तिगेलाले गरेका योगदानको कदर स्वरुप खेलमैदानको नाम ‘विश्वास दीप तिगेला खेलमैदान’ नामाकरण बैठकमा सयुक्त रुपबाट निर्णय गरेको बताए ।
विद्यालयको तर्फबाट दाता तिगेला दम्पतिलाई दोसल्ला ओडाई सम्मान गरे भने दाता तिगेलाले आफूलाई पढाउनु हुने गुरुवर भोगेन्द्रराज अधिकारी र रेवती सुवेदीलाई नेपाली ढाका टोपी लगाईदिएर सम्मान गरे । तिगेलाले आफू जन्मेको माटो, आमाबुबा र गुरुजनलाई सधै सम्झने, सम्मान गर्ने गरेको बताए । आफूसँग प्रसस्त पैसा भएर होइन, आफू अध्ययन गरेको विद्यालयलाई सहयोग गर्नु आफ्नो दायित्व महशुस गरि दुःख गरि कमाएको पैसा विद्यालयलाई दिएको बताए । निकट भविश्यमा पनि विद्यालयलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।
दाता तिगेलाले आफूले कक्षा १ देखि ५ सम्म पढेको नजिकैको अर्को विद्यालय शारदा माध्यामिक विद्यालयलाई पनि विभिन्न समयमा सहयोग गर्दै आएको वताए । उनले करिब डेढदशक अघि कम्प्युटर सहयोग गरेका थिए । विद्यालयको निम्ति सो कम्प्युटर पहिलो थियो । उक्त विद्यालयलाई पटकपटक खेलकुदको सामाग्री समेत प्रदान गरेका थिए । त्यस्तैगरि तिसमुरे डाँडामा ४ कोठे सिरिजंगा प्राथमिक विद्यालय निर्माण गर्दा आवश्यक पर्ने च्यादर र काठ खरिद गरि दिएका थिए ।
सरस्वती पुजाको दिन आयोजित सो खेलमैदान हस्तान्तरण समारोहमा विद्यार्थी नानीहरुले करिब दर्जन भन्दा बढि गीत र नृत्य प्रस्तुत गरेका थिए । सो कार्यक्रमको सभापतित्व होम कुमार लिम्बुले गरेका थिए भने संचालन शिक्षक प्रेम कार्कीले गरेका थिए ।
- dhankutapress