धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
धनकुटा/३०३ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवशको अवसरमा सुनसरीको धरान देखि धनकुटाको पाख्रीवाससम्म ऐतिहाशिक साँगुरीगढी पदयात्रा हुने भएको छ ।
भीमदल गण सल्लेरी ब्यारेक धनकुटाको आयोजनामा सम्पन्न सरोकारवालाहरु विच हालै सम्पन्न छलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख सेनानी गणेश थापाले यस्तो जानकारी दिएका हुन् । सो अवसरमा उनले कार्यक्रम संचालन योजना सार्वजानिक गर्दै राष्ट्रिय एकताको भावना विकास होस भन्ने उदेश्यले आगामी पौष २६ देखि २९ गतेसम्म विविध कार्यक्रमहरु आयोजना गरेर राष्ट्रिय एकता दिवश मनाउने बताए ।
चार दिनसम्म आयोजना हुने ऐतिहाशिक साँगुरीगढी पदयात्रामा पौष २६ गते साँगुरीगढी गाउँपालिकाो भेडेटारमा विशेष कार्यक्रम आयोजना हुनेछ । साँगुरीगढीको इतिहाँस, खेलकुद र पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले पौष २६ गते पहिलो दिन साँगुरीगढी रन–०८१ आयोजना गर्न लागिएको सो अवसरमा जानकारी दिइएको थियो ।
त्यसैगरी २७ गते सुनसरीको धरान फुस्रेबाट शुरु भएको पदयात्रा धनकुटाको साँगुरीगढी गाउँपालिकाको वडा नं.६ मा रहेको साँगुरीगढीमा भीमदल गणले विशेष कार्यक्रम आयोजना गर्ने कार्यक्रम रहेको गणपति गणेश थापाले बताएका छन् । तत्पश्चात साँगुरीगढीको कार्यक्रम सम्पन्न भए पश्चात पदयात्रा धनकुटा तर्फ अघि वढ्नेछ । सोही क्रममा पदयात्रा मुलघाटमा एक रात बास बस्नेछ भने पौष २८ गते मुलघाटबाट धनकुटाको बेलहरामा पुनः एक रात बास बसेर र पौष २९ गते पाख्रीबासमा पुगेर औपचारिक पदयात्रा समापन हुनेछ ।
कार्यक्रम सम्पन्न गर्नको लागि कुल खर्च करिव ६ लाख रुपयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये साँगुरीगढी गाउँपालिकाले ३ लाख, धनकुटा नगरपालिकाले १ लाख, ५० हजार र पाख्रीवास नगरपालिकाले १ लाख, ५० हजार गरी जम्मा ६ लाख रुपयाँ बराबरको आर्थिक दायित्व व्यहोर्ने निर्णय भएको छ । वाँकी भैपरी आउने खर्च कार्यक्रम आयोजक भीमदल गण धनकुटाले व्यहोर्ने गरी निर्णय भएको छ ।
छलफल कार्यक्रममा जिल्ला समन्वय समिति, धनकुटाका प्रमुख निरेन तामाङ, पाख्रीवास नगरपालिकाका प्रमुख ज्ञानवहादुर गुरुङ, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्र्रेल, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ राई लगायत सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु साथै सरोकारवाला संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
- dhankutapress