धनकुटा प्रेस सम्वाददाता
धनकुटा/मालवाहक ढुवानी सेवाले तोकिएको मापदण्ड भन्दा वढी भारवहन गरिरहेकाले कोशी पहाडी रुटको सडकमा जोखिम वढेपछि जोखिम न्यूनिकरणका विषयमा यहाँ छलफल गरिएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापनमा सन्दर्भमा गम्भिर चुनौती देखिएको जनगुनासो वढेपछि सो बिषयमा विहिवार जिल्ला प्रशासन कार्यालय धनकुटामा सरोकारवालाहरु विच छलफल गरिएको हो ।
छलफलमा यातयात व्यवस्था कार्यालयले तोकेको भारवहन क्षमता भन्दा वढी भार बोक्ने ढुवानीका साधनहरुलाई ट्राफिक प्रहरीले नियमन गर्ने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा वसेको सर्वपक्षिय छलफल तथा वैठकले यस्तो निर्णय गरेको हो । छलफलमा सहभागी संयुक्त परिवहन व्यवस्थापन समिति धरानका प्रतिनिधि गणेश प्रसाद भण्डारीले यातयात कर्यालयले तोकेको मापदण्ड भन्दा वढी ढुवानी भैरहेको र ट्राफिक प्रहरीले ओभरलोडको चिट काट्दै छाड्ने गरेको गुनासो गरे ।
भण्डारीले भने–‘यातयात कार्यालयले ४ चक्के पिकअफले १५ सय केजी वोक्नु पर्नेमा ३५ सय ४ हजार केजी बोक्ने गरेको छ ।‘ त्यसैगरी ६ चक्के डवल एक्सलले १०.२ टन वोक्न पाउने क्षमता हो तर, १७/१८ टन भन्दा वढी बोक्ने गरेको छ । त्यसैगरी १० चक्केले १७ टन वोक्न पाउने भारवहन क्षमता रहेको भएपनि २८/३० टन भन्दा वढी बोक्ने गरेको भण्डारीको दावी छ । भण्डारीले थपे–‘१२ चक्के ट्रकले त झन २१ टन वोक्न पाउने भारवहान क्षमता भएपनि ४० टनको हाराहारीमा ओभरलोड बोकेर हिड्ने गरेको छ ।‘
संयुक्त परिवहन व्यवस्थापन समिति धरानका छलफलमा सहभागी अर्का प्रतिनिधि चुइन्द्र बस्नेतले नेपाल सरकारको भौतिक मन्त्रालयले जारी गरेको भारवहन सम्वन्धि निर्देशिका २०१४ विपरित ढुवानी भैईरहेको दाबी गरे । उनले भने–‘धरान धनकुटा सडकको भारवहन क्षमता १०.२ टन मात्र हो तर ४० टनसम्म वोक्दा पनि ट्राफिकले चिट काटेर छाड्ने गरेको छ, यसो गर्न पाईन्छ भन्दै स्थानीय प्रशासन र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रतिनिधिलाई प्रश्न गरे ।
उनले भारवहन क्षमता भन्दा वढी ढूवानीका साधनहरुले भार बोकेको कारण मुलघाट स्थित् तमोर नदीको पुल जोखिममा परेको बताए । उनले केहि समय अघि वढी भार वोकेको कारण संखुवासभा जिल्लाको हेदाङ्गना गढी र नुमको विचमा पर्ने फाक्सिन्दा वेँसीमा १२ चक्के ट्रक ओभरलोड माल बोकेको कारण मोटरेवलपुल भाँचिएको स्मरण गराए ।
छलफल पछि भारवहनका विषयमा तोकिएको भन्दा वढी भार बोकेको विषयमा ट्राफिक प्रहरी कार्यालयले नियमन गर्ने, डिभिजन वन कार्यालय र सडक डिभिजन कार्यालय विच आवश्याक समन्वय गर्ने, पहाडबाट सिमेण्ट ढुङ्गा र लक्कडी ढुवानी गर्दा ३ सय ५० देखि ४ सय किवि भन्दा वढी ढुवानी गर्न नदिने निर्णय भएको छ । त्यसैगरी कुन गाडीले कति माल वोक्छ भनेर ट्राफिक प्रहरीले काँटा स्लिप राखेर चेकजाँच गर्ने, धरान वेस क्याममा भएको धर्मकाँटाले भारवहनको सहि टिपोट गरेर ट्राफिक प्रहरीलाई दिने लगायतको ११ वुँदे निर्णय भएको छलफलमा सहभागी नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले बताए ।
चाडपर्वको समयमा हुनसक्ने सडक दुर्घटना, चोरी डकैती तथा यातायात सम्बन्धी समस्या न्यूनीकरण गर्न सडक सुरक्षा र यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउने उदेश्यले ११ बुँदे निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शार्माले बताईन । जिल्ला प्रशासन कार्यालय धनकुटामा भएको बैठकले विपद्को जोखिम भएका स्थानमा तत्काल उद्धारका लागि आवश्यक मानवीय तथा भौतिक स्रोत–साधन तयारी अवस्थामा राख्न सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको छ ।
दुर्घटनाको उच्च जोखिम भएका स्थानमा होर्डिङ बोर्ड तथा सडक संकेत राखी चालकलाई सचेत गराउने र सडक डिभिजनअन्तर्गतका निर्माण सामग्री उचित स्थानमा राख्न भनिएको छ । त्यस्तै, राजमार्ग तथा सहायक मार्गमा रहेका खाल्डाखुल्डी पुर्ने र नियमित मर्मत सम्भारको व्यवस्था गर्न सम्बन्धित आयोजना तथा स्थानीय तहलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिईन । सडक बन्द भएको अवस्थामा सुरक्षा निकायले १० मिनेटभित्र सडक अवरोध हटाउन सक्ने गरी तयारी अवस्थामा रहने निर्णय गरिएको छ ।
छलफलमा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरिक्षक नारयण रन्जितकार,सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख राजेन्द्र प्रसाद शाहा, यातयात व्यवास्था सेवा कार्यालयका रमेश प्रसाद दाहाल, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लेखनाथ खनाल, तमोर करिडोरका आयोजना प्रमुख मनिष कुमार शाक्य, इन्जिनियर लालवहादुर विश्वकर्मा, सव इन्जिनियर विवस अधिकारी, संयुक्त परिवहन व्यवस्थापन समितिका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
- dhankutapress