धनकुटा प्रेस सम्वाददाता
धनकुटा/सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म छिन्ताङ्ग धनकुटाको आयोजनामा मंगलवार विपद र कठिन परिस्थतिमा कसरी जिउज्यान जोगाउने भन्ने पूर्वाभ्यासको लागि विपद प्रतिकार्यको तयारी थालिएको छ ।
विपद प्रतिकार्य तयारीको क्रममा विपदका बेला आपत्कालीन उद्धार कसरी गर्ने ? प्राथमिक उपचार कसरी गर्ने ? विपद्को प्रतिकार्य कसरी गर्ने ? भन्ने विषयमा अभ्यास भईरहेको छ । अभ्यास तथा प्रशिक्षणमा समुदायस्तरमै विपद् प्रतिकार्य क्षमता विकास गर्ने उद्देश्यसहित धनकुटामा सात दिने ‘समुदायस्तरीय विपद् प्रतिकार्य स्वयंसेवक समूह निर्माण तालिम तथा सचेतनामूलक कार्यक्रम‘ सुरु गरिएको हो ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय पकली (सुनसरी) र सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म छिन्ताङ्गको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो । तालिममा २० जना प्रशिक्षार्थी सहभागी छन् । तीमध्ये ७ जना महिला र १३ जना पुरुष छन् । सहभागीहरूमा स्थानीय विपद् सूचक तथा बासिन्दासँगै नगर प्रहरीसमेत समावेश छन् । जसले समुदाय र सुरक्षा निकायबीचको सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।
तालिम अवधिभर सहभागीहरूलाई विपद्को परिचयदेखि लिएर बाढी तथा पहिरोजस्ता पानीजन्य विपदमा खोज तथा उद्धार, भूकम्प र आगलागी नियन्त्रण, भत्केका संरचनाबाट उद्धार कार्य, तथा प्राथमिक उपचार र गाँठो बाँध्ने विधि जस्ता व्यावहारिक सीप सिकाइनेछ । विपद व्यवस्थापनमा समुदायको भूमिका निर्णायक हुने भएकाले सरकारी निकाय मात्र होइन, समुदाय स्वयं सक्षम भए मात्र विपद् जोखिम न्यूनीकरण प्रभावकारी बन्ने धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले बताइन् ।
त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्मका गल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमप्रसाद सिग्देलले स्थानीय समुदायसँगको सहकार्यले विपद् प्रतिकार्यलाई अझ प्रभावकारी बनाउने धारणा राखे । उनका अनुसार तालिमपछि तयार हुने स्वयंसेवक समूहले आपत्कालीन अवस्थामा छिटो उद्धार तथा राहत कार्यमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
नेपालजस्तो भौगोलिक रूपमा संवेदनशील देशमा बाढी, पहिरो, भूकम्प र आगलागीजस्ता विपद् नियमित चुनौतीका रूपमा देखा पर्ने गरेको उनको भनाइ छ । यो अवस्थामा सरकारी निकाय मात्र पर्याप्त नहुने भएकाले समुदायस्तरमै दक्ष स्वयंसेवक तयार पार्ने प्रयास गरिएको सिग्देलको भनाइ छ ।
- dhankutapress