धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
धनकुटा/प्रदेश नं. १ को प्रमुख पर्यटकीय स्थल धनकुटाको भेडेटारमा सदा झै यस वर्ष पनि ‘भेडेटार फुड फेस्टिवल’ (खाना महोत्सव) हुने भएको छ ।
होटल एसोसिएसन अफ भेडेटारले आगामी पौष १६ देखि १८ गतेसम्म ‘१२ औँ फुड फेस्टिवल (खाना महोत्सव) गर्ने भएको हो । अंग्रेजी नयाँ वर्षको अवसर पारेर तीन दिनसम्म सञ्चालन हुने फेस्टिवल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको होटल एसोसिएसन अफ भेडेटारले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो ।
धरान र धनकुटाको पर्यटन प्रवद्र्धनमा भेडेटारको उल्लेख्य भूमिका रहेकाले यसको अझै प्रचारप्रसार गर्न र पर्यटनसँगै आर्थिक विकासका लागि अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा फेस्टिवल आयोजना गर्न लागिएको होटल एसोसिएसन अफ भेडेटारले जनाएको छ । पूर्व आउने विदेशी पर्यटकहरुमा सबैभन्दा धेरै भारतीय हुने गरेको र नयाँ बर्षमा भारतीयहरुको बिदा हुने भएकाले उनीहरुलाई पूर्वी नेपाल र विषेश गरि भेडेटारमा आकर्षित गर्न फेस्टिवलको आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।
फेष्टिबल (खाना महोत्सव) ले ओझेलमा परेका ऐतिहासिक, धार्मिक, साँस्कृतिक परम्परागत तथा पर्यटकीय स्थलहरुको प्रचार–प्रसार हुने आयेजकको भनाई छ । फेस्टिवलमा करिब २ करोड बरावरको आर्थिक कारोवार हुने आयेजकले गरेको छ । फेस्टिबलमा ४० देखी ५० हजार पर्यटक भित्राउने लक्ष्य रहेको होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए । तीन दिनसम्म हुने फेस्टिवलमा विभिन्न जातिका जातिय परिकारका स्टल, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादन लगायत २५ वटा स्टलहरु राखिने आयोजकले जनाएको छ ।
तीन दिनसम्म हुने फेष्टिबलमा आगन्तुक पर्यटकका लागि पहिलो दिन पाथिभरा मन्दिर दर्शन, साँगुरीगढी अवलोकन, स्काई व्रीज भ्रमण, नमस्ते झरना भ्रमण र भेडेटार वा नाम्जेमा बास र खानाको गरि २ हजार ५ सय रुपैयाँ प्रति व्यक्तिको प्याकेज र द्रास्रो दिन पनि २ हजार ५ सय रुपैयाँ प्रति व्यक्तिको दरले ध्वजे डाडा सुर्योदय अवलोकन, एसियाको दोोस्रो ठुलो अजङ्गको बरको रुख भ्रमण, राजारानी तालको अवलोकन र बस्नको लागी नाम्जे वा डाडाँवजार होमस्टे र खानाको प्याकेज बनाइएको छ । यस्तै तेस्रो दिन प्रति व्यक्ति ४ हजार रुपैयाका दरले तमोर रिभर राफ्टीङ्ग, भेडेटार बास र खानाको प्याकेज र प्रति व्यक्ति ८ हजार रुपैयाका दरले प्याराग्लाइडिङ, भेडेटार बास र खानाको प्याकेज बनाइएको आयोजक समितिका सचिव रमेश श्रेष्ठले जानकारी दिए ।
फेष्टिबल (खाना महोत्सव) मा पर्यटकहरुले स्थानिय जातिय परम्परागत खानेकुराहरुको स्वाद लिन हेर्न बुझन पाउने, भेडेटारका पर्यटकीय स्थलहरु घुम्ने र मनोरञ्जन लिन सक्ने, साना तथा ठुला होटल व्यावसाय फस्टाउने र पर्यटकहरुको आगमन वढ्ने र भेडेटारमा लगानीको अवसरहरु सृजना हुने आयोजकको लक्ष्य रहेको छ ।
फेष्टिबल प्राकृतिक वातावरण स्रोत तथा पर्यटन भेडेटार, भेडेटार आमा समुहको सह–आयोजना तथा धनकुटाको साँगुरीगढी, छथर जोरपाटी, चौविसे र सहिदभुमि गाउँपालिका तथा धनकुटा, महालक्ष्मी, पाख्रिबास नगरपालिका र सुनसरीको धरान उप–महानगरपालिकाको सहयोगमा हुन लागेको हो । फेस्टिवल (खाना महोत्सव) मा ३१ लाख ५० हजार रुपैँया बराबरको खर्च हुने आयोजकको अनुमान छ। २०६९ सालदेखि हरेक वर्ष हुँदै आएको फेष्टिबल कोभिड १९ का कारण २०७७ सालमा सञ्चालन हुन सकेको थिएन ।
- dhankutapress