धनकुटा प्रेस अनलाईन
धनकुटा/१५ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि क्षमादेवी प्लानिङ ब्वाइज क्लव काठमाडौंले जितेको छ ।
धनकुटा सदरमुकाम स्थित तल्लो टुँडिखेलमा बुधबार सम्पन्न भीमनारयण गोल्डकपको फाइनल खेलमा वीरगञ्ज युनाइटेड क्लवलाई ४–० गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि जितेको हो । उपाधिसँगै प्लानिङ ब्वाइजले नगद ५ लाख रुपैया सहित भीमनारायण गोल्डकपको ट्रफी हात पारेको छ ।
उपविजेतामा चित्त बुझाएको विरगञ्ज यूनाइटेडले २ लाख ५० हजार सहित ट्रफि हात पारेको छ । प्लानिङ ब्वाइजको जितमा यो निपोलियनले २, समिर थापा र विशाल दर्जीले १/१ गोल गरेका थिए । फाइनल खेलको म्यान अफ द म्याच विजेता टिमका अभिनास थापा मगर घोषित भए । उनले नगद ४ हजार रुपैया हात पारे । त्यस्तै विजेता टिमका विशाल दर्जी उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकिपर लोकेश चौधरी,उत्कृष्ट स्टाइकर यो निपोलियन घोषित भए भने वीरगञ्जका उमेश कार्की उत्कृष्ट मिडफिल्डर घोषित भए ।
उनीहरुले ७/७ हजार नगद र ट्रफी हात पारे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्लानिङ ब्वाइजका डेडी वाम्वा घोषित भए । उनले नगद १५ हजार र ट्रफी प्राप्त गरे । एन्फाका उपाध्यक्ष तथा एएफसी सामाजिक उत्तरदायी समितिका सदस्य दावा लामा, पाख्रिवास नगरपालिकाका नगर प्रमुख ज्ञानवहादुर गुरुङ लगायतले खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।
सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता गत वैशाख २७ गते शुरु भएको थियो । वि.सं.२०५५ सालमा स्थापना गरिएको गोल्डकप सुरुका दुईवर्ष नियमित रुपमा सञ्चालन भएको थियो । त्यसपछि देशको तत्कालीन असहज परिस्थितिका कारण सञ्चालन हुन सकेन । वि.सं.२०६३ सालपछि गोल्डकप बर्षेनी सञ्चालन हुँदै आइरहेको छ । वि.सं.२०५५ सालमा धनकुटा नगरपालिका वडा नं. ६ का तत्कालीन् वडाध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले प्रतियोगिताको सुरुवात गरेका हुन् ।
नेपाली कांग्रेसका नेता शहीद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरि वि.सं. २०३५ सालमा तत्कालिन सरकारले गोली हानी हत्या गरेको थियो । उनलाई तत्कालीन् सरकारले वि.सं.२०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।
- Dhankutapress