धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता
धनकुटा/संयुक्त राज्य अमेरिकाको न्यूयोर्क स्थित् यूएनका मुख्य कार्यालयमा मार्च ११ देखि २२ सम्म (२०२४) मा संचालन भएको तालिममा भाग लिन गएकी धनकुटाकी पत्रकार एवं महिला अधिकारकर्मी जयन्ती राई अमेरिकामै बेपत्ता भएकी छन् ।
यूएनको मुख्य कार्यालयले न्यूयोर्कमा आयोजना गरेको कमिसन अन द स्टाट्स अफ ओमन सिएसडब्लु को ६८ औं सत्रमा महिला संजाल धनकुटाको तर्फबाट भाग लिन गएकी पत्रकार तथा महिला अधिकारवादी जयन्ती राई तालिम सकिए लगत्तै अमेरिकामा बेपत्ता भएकी हुन् ।
संकल्पका अनुसार जयन्ती राईको घर परिवार र उनको नजिकका व्यक्तिहरुसंग पटक÷पटक सम्पर्क गर्दा उनीहरु कोहि पनि जयन्तीको सम्पर्कमा नरहेको बताउँदै आएका छन् । धनकुटा नगरपालिका वडा नं.७ घर भएका जयन्तीका भाई अनुप राईले पनि दिदिसंग आफ्नो सम्पर्कमा नरहेको बताएका छन् । उनले दिदि जयन्ती गैह्र कानूनी ढंगले अमेरिकामा बसेका छन् भन्ने कुरा पनि संकल्पको कार्यालय काठमाण्डौंबाट फोन आएपछि मात्र थाहा पाएको बताए ।
जयन्ती राईको गैह्र जिम्मेवार र गैह्र कानूनी हर्कतले उनलाई सिएसडब्लुको बैठकमा पठाउनको लागि सिफारिस गर्ने संस्था र व्यक्तिहरु समेत अहिले अफ्ठयारोमा परेका छन् । साथै, काठमाण्डौं स्थित् अमेरिकन दुतावासले संकल्पका पदाधिकारीहरुलाई पटक÷पटक फोन गरेर जयन्ती अहिले कहाँ छिन् ? र उनी कार्यक्रम सकेपछि पनि किन नेपाल नफर्किएको भनि खोजी गरिराखेको छ ।
उनी ‘डब्लुडब्लुजे’ धनकुटामा आवद्ध भएर काठमाण्डौंमा पत्रकारिता गर्दै आएकी थिईन । क्रियाशिल पत्रकार र महिला अधिकारवादी भएकी कारण उनी यूएनको मुख्य कार्यालयले न्यूयोर्कमा आयोजना गरेको कमिसन अन द स्टाट्स अफ ओमन सिएसडब्लु को ६८ औं सत्रमा महिला संजाल धनकुटाको तर्फबाट भाग लिन गएकी थिईन ।
- dhankutapress