धनकुटा प्रेस सम्वाददाता
धनकुटा/रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भदौ १० गते आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाल निर्माण व्यवसायी संघ धनकुटाले आर्थिक सहयोग गरेको छ ।
संघले बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै पीडितहरूको राहत तथा उद्धारमा सहयोग र्पुयाउने उद्देश्यले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो । उक्त रकम राष्ट्रिय वाणिज्य बैंकमा रहेको सम्बन्धित राहत कोषको खातामा जम्मा गरिएको संघका धनकुटा अध्यक्ष प्रकाशकुमार थुलुङ राईले जानकारी दिए । सहयोग रकम जम्मा गरेको भौचरको प्रतिलिपिसहित जिल्ला प्रशासन कार्यालय धनकुटालाई जानकारी गराइएको संघले जनाएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा हजारौंको संख्यामा मानवीय तथा भौतिक क्षति भएको छ । बाढीपहिरोपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट सहयोग जुटिरहेको अवस्थामा नेपाल निर्माण व्यवसायी संघ धनकुटाले पनि सहयोग गरेको महासचिव मनोज राईले जानकारी दिए । विपद्को यस कठिन समयमा पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको भन्दै संघको तर्फबाट सहयोग गरेको राईले जानकारी दिए 
- dhankutapress