धनकुटा प्रेस सम्वाददाता
धनकुटा/लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस २० देखि २६ जुन सम्मको सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी धनकुटामा मनाइएकोछ ।
जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङको प्रमुख आतिथ्यता तथा धनकुटा नगरपालिकाका कार्यवाहक नगर प्रमुख भिमादेवी खनालको विशेस आतिथ्यतामा प्रभातफेरी तथा कोणसभा आयोजना गरेर कार्यक्रम सम्पन्न भएको हो । धनकुटा नगरपालिका वडा नं.६ मा रहेको सहिद भीमनारयण श्रेष्ठको सालिक रहेको स्थान भीमनारयण चोकबाट प्रभातफेरी शुरु भएर वसपार्कमा आएर कोणसभा आयोजना गरिएको थियो ।
कोणसभालाई सम्वोधन गर्दे जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपोसारले गर्दा समाजमा विकृति विसंगती फैलिएको बताए । उनले लागु औषधदुरुपयोग तथा अवैध ओसारपोसारलाई तत्काल समाजमा नियन्त्रण गर्नु सक्नु पर्नेमा जोड दिए । उनले पछिल्लो समयमा युवा लागुऔषधको लतमा वढीमात्रमा फस्ने गरेको तत्थाङ्गकहरुमा पाइएको भन्दै चिन्ता व्यक्त गरे ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा सम्पन्न कोणसभालाई कार्यक्रमका विेशेष अतिथि धनकुटा नगरपालिकाका कार्यवाहक प्रमुख भीमादेवी खनाल, प्रमुख प्रशासकिय अधिकृत दशरथ राई लगायतले सम्वोधन गरेका थिए । प्रभातफेरी तथा कोणसभामा सुरक्षा समितिका पदाधिकारीहरु, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु, विभिन्न वडाका अध्यक्ष एवं जनप्रतिनिधीहरु, नगरभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, नागरिक समाज, रेडक्रस, अन्तरपार्टी महिला संजाल, महिला मानव अधिकार रक्षक संजाल, पुन ः स्थापना केन्द्र, सामाजिक अभियन्ता, विभिन्न संघ संस्थाहरु, संचारकर्मीहरु, विभिन्न टोलविकास संस्थाका प्रमुख एवं प्रतिनिधिहरु उपस्थिती रहेको थियो ।
धनकुटा नगरको भीमनारायण चोकवाट शुरुभएको प्रभातफेरी कार्यक्रम वसपार्कमा औपचारिक रुपमा सम्पन्न भएको थियो । ‘लागू औषध दुर्वसन न्यूनिकरण गर्न र लागू औषधमुक्त समाज निर्माणमा हामी प्रतिवद्ध छौ‘ भनि प्रतिवद्धता पत्रमा सोअवसरमा सहभागीहरुले हस्ताक्षर समेत गरेका थिए । साथै, सप्ताहव्यापी कार्यक्रममा लागू औषध नियन्त्रण सम्बन्धि जिल्लाका विभिन्न १३ वटा सामुदायिक विद्यालयहरुमा सचेतना कार्यक्रम, २ वटाविद्यालयमा अन्तरक्रिया कार्यक्रम, हिंशामा परेका महिलहरुको सुरक्षादिन स्थापना गरिएको महिला पुनःस्थापना केन्द्रको अनुगमन तथा लागू औषध तथा मा.पा.से. चेकजाँच कार्यक्रम संचालन गरिनुको साथै १९ जनालाई सुधारकेन्द्र पठाइएको र चार जनालाई आफन्तमा वुझाइएको कार्यक्रम आयोजक संस्थाका सदस्य जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
- dhankutapress