धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटास्थित सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयमा कार्यरत एक इन्जिनियरसहित तीन कर्मचारी घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर सुमन राई, लेखा अधिकृत इनद्रबहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठलाई पक्राउ गरेको हो ।
सेवाग्राहीबाट घुस लिएको ८५ हजार रुपैयाँसहित इन्जिनियर राईलाई ललितपुरबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ । त्यस्तै, लेखा अधिकृत कार्कीलाई धनकुटाबाट र इन्जिनियर श्रेष्ठलाई भोजपुरबाट नियन्त्रणमा लिइएको हो ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं.–५ मा रहेको एक विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी प्रक्रियाका क्रममा उनीहरूले सेवाग्राहीसँग विभिन्न बहानामा दुःख दिँदै घुस मागेको आरोप छ ।
उक्त विषयमा उजुरी परेपछि खटिएको अख्तियारको टोलीले घुस रकमसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूबाट तीन थान मोबाइल र विभिन्न कागजातसमेत बरामद गरिएको जनाइएको छ ।
- dhankutapress