धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटा नगरपालिका वडा नं.९ मुलघाटमा रहेको विश्रान्ति मन्दिर व्यवस्थापन समितिको १८ औं बार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।
सो अवसरमा संसस्थाको वार्षिक सांगठनिक तथा आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको छ । मन्दिर व्यवस्थान समितिले हाल ४० जनाभन्दा बढी ज्येष्ठ नागरिकको संरक्षण तथा भरणपोषण गर्दै आएको जनाएको छ । त्यसैगरी उक्त संस्थामा ३५ जनाभन्दा बढी बटुकलाई गुरुकुल प्रणालीमार्फत कक्षा ६ देखि ९ सम्म संस्कृति शिक्षाको पठनपाठन सञ्चालन गरिएको छ ।
विश्रान्ति मन्दिरमा २ हजार ५ सय आजीवन सदस्य आबद्ध रहेका छन् भने ‘विश्रान्ति आमा कार्यक्रम’ अन्तर्गत ९ सय सदस्य आबद्ध रहेका छन् । मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेले आर्थिक वर्ष २०८१/०८२ सहित पछिल्लो चार वर्षको सांगठनिक प्रतिवेदन प्रस्तुत गरे । यस्तै, कोषाध्यक्ष विकास प्रधानले संस्थाको आम्दानी तथा खर्च विवरण सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमकै अवसरमा समितिका अध्यक्ष शारदाप्रसाद मिश्रद्वारा लिखित ‘कथाकुञ्ज’ पुस्तक लोकार्पण गरिएको थियो। त्यसैगरी, कर्मचारी सञ्चयकोष धनकुटाले सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिरमा आश्रित ज्येष्ठ नागरिकहरूको सहयोगार्थ १ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, निमिक्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मी, स्वामी विजयानन्द सरस्वती, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू तथा आजीवन सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उक्त अवसरमा वक्ताहरूले विश्रान्ति मन्दिरले ज्येष्ठ नागरिक संरक्षण तथा सेवा क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्न सुझाव दिएका थिए ।
- dhankutapress