धनकुटा प्रेस सम्वाददाता
धनकुटा/प्रदेश नं.१ कै चर्चित पर्यटकीय स्थल धनकुटाको भेडेटारमा जारी तिनदिने खाना महोत्सव (फुडफेस्टिबल) विहिवार सम्पन्न भएको छ ।
अंग्रेजी नयाँ वर्ष सन् २०२५ लाई लक्षित गरेर प्रदेश नं.१ कै प्रमुख पर्यटकिय केन्द्र भेडेटारमा आयोजना गरिएको तिनदिने खाना महोत्सव (फुडफेस्टिबल) विहिवार सम्पन्न भएको हो । ‘भेडेटार प्रकृतिको गहना, पर्यटक भित्र्याउने हाम्रो चाहना’ भन्ने मुल नाराको साथ होटल एशोसिएसन भेडेटारको आयोजनामा भएको यो १२ औं खाना महोत्सव (फुडफेस्टिबल) हो ।
मंगलबार कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रि सदानन्द मण्डलद्धारा उद्धघाटन गरिएको भेडेटार खाना महोत्सव (फुडफेस्टिबल) को समापन साँगुरीगढी गाउपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले गरेका छन् । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गाउँपालिका अध्यक्ष रुम्दालीले यस खाना महोत्सव (फेस्टिबल) लाई सबै भेडेटारवासीहरुले आफ्नो अपनत्व लिनुपर्ने बताए । उनले भेडेटारमा आउने पर्यटकहरुकै कारण यहाँको ब्यवसाय फस्टाउनुका साथै निजी लगानीहरु भित्रिएकोले अब आउने नयाँ पिढीले भेडेटारको पर्यटन प्रवद्र्धनमा थप भूमिका खेल्नुपर्ने बताए ।
यसैगरी कार्यक्रममा साँगुरीगढी गाउँपालिका वडा नं. ६ का वडाअध्यक्ष यम प्रसाद मगरले भेडेटारको पर्यटन प्रवद्र्धनका लागी आयोजना हुँदै आएको खाना महोत्सव (फेस्टिबल) मा प्रचार प्रसारको कमि महशुस भएको बताए । उनले आगामी खाना महोत्सवमा गाँउपालिकाले ५ लाख हैन १० लाख वजेट विनियोजन गर्नु पर्ने बताए । त्यस्तै एशोसिएसनका अध्यक्ष तुमराज लिम्बुले आगामी वर्षमा फुडफेस्टिबललाई नमस्ते झरनासम्म पुर्याउने बताए । उनले भने–‘आगामी वर्ष देखी भेडेटार खाना महोत्सवलाई कुनै न कुनै रुपमा फरकपन दिनु पर्छ ।’ ‘अन्यथा भेडेटार खाना महोत्सवको चाम वढ्ने होईन घट्न सक्छ–लिम्वूले थपे ।
यसैगरी फेस्टिबलमा राई जातीकोे साकेला, लिम्बुको केलाङ, मगरको हुर्रा र याम्फू जातिको साँस्कृतिक झाँकी प्रदर्शनी साथै पर्यटकहरुको लागि साँस्कृतिक तथा साँगितिक मनोरन्जनको लागि पाथिभरा क्लब भेडेटार, राम मा.वि., ग्रामीण जनता मा. वि. तथा गरिमा डान्स सेन्टर धरानको विभिन्न जातीय साँस्कृतिक तथा मोर्डन नृत्य प्रस्तुती गरिएको थियो।भने साँगितिक मनोरन्जन तर्फ चर्चित गायिका सुनिता थेगिम, भोईस अफ नेपालका प्रतियोगि गायक जेनिस राई, भोईस अफ धरानका सेकेन्ड रनरअप सुमन चाम्लिङ राई सहित गायक भक्तराज लिम्बु, निलिमा राई, राधा फोम्बो, मोहन लिम्बु, जीवन मगर, सुन्दर लिम्बु, आनन्द राई र द अलाईस व्याण्ड, द प्याराडाईस व्याण्ड, पाथीभरा व्याण्ड भेडेटारको गीत प्रस्तुती र उदघोषण सन्जु राई रहेको थियो।
समापन समारोहमा गाउँपालिकाले कृषि मेलामा आफ्नो उत्पादन प्रदर्शन गर्ने विभिन्न वडाका उत्कृष्ट ५३ जना उत्कृष्ट कृषकहरुलाई नगद, प्रमाण सहित पुरस्कृत गरेको थियो । महोत्सव होटल एशोसिएशन भेडेटारका अध्यक्ष तुमराज लिम्वुको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन पुर्व अध्यक्ष लिलाराज लावतीले गरेका थिए ।
- dhankutapress