धनकुटा प्रेस सम्वाददाता
धनकुटा/सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णयविरुद्ध नेपाल पत्रकार महासंघले देशव्यापी रूपमा घोषणा गरेको आन्दोलन अन्तर्गत धनकुटामा पनि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाले बिहीबार प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्कालाई ज्ञापनपत्र बुझाउँदै उक्त निर्णय सङ्घीयता विरोधी, विभेदकारी तथा आपत्तिजनक भएको भन्दै ज्ञापन पत्र वुझाएका हुन् ।
महासंघले सरकारको यो नीति तुरुन्त फिर्ता लिन आग्रह गरेको छ । ज्ञापनपत्र बुझाउँदै नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष बिदुर खवासले सरकारी सञ्चार माध्यमलाई मात्र विज्ञापन दिने निर्णयले निजी तथा स्वतन्त्र सञ्चार माध्यमलाई कमजोर बनाउने र प्रेस स्वतन्त्रतामाथि असर पार्ने धारणा व्यक्त गरे। उनले यस्तो विभेदकारी नीति तत्काल खारेज गर्न सरकारसँग माग गरे। आन्दोलनको कार्यक्रमअनुसार महासंघमा आबद्ध पत्रकारहरू जिल्ला प्रशासन कार्यालय धनकुटा पुगेर संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले पत्रकारहरूको मागप्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त ज्ञापनपत्र गृहमन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने प्रतिबद्धता व्यक्त गरे । नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन वितरण सम्बन्धी नीतिको विरोधमा देशभर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
- dhankutapress