धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं.१ र २ मा बुढिमोरङ बृहत् लिफ्टीङ खानेपानी आयोजना सुरू भएको छ । शनिबार एक औपचारिक कार्यक्रमको विच नेपाल सरकारका खानेपानी मन्त्री प्रदीपकुमार यादवले आयोजनाको शिलान्यास गरेका हुन् ।शिलान्यास कार्यक्रमका प्रमुख अतिथि मन्त्री यादवले सुद्ध, स्वच्छ र पर्याप्त खानेपानी पुर्याउन नेपाल सरकारको खानेपानी मन्त्रालय प्रतिबद्ध रहेको बताए । उनले खानेपानी आयोजनामा साझेदारी लगानीको पद्धतिलाई परिवर्तन गरेर उपभोक्ताको लगानी शून्यमा झार्ने बताए । मन्त्री यादवले भने–‘अहिले खानेपानी मन्त्रालयले संचालन गरेको जति पनि खानेपानी आयोजनाहरुमा ८५ प्रतिशत नेपाल सरकार र १५ प्रतिशत लगानी उपभोक्ताको तर्फबाट हुँदै आएको छ ।’ ‘म यस्लाई सून्यमा झार्नु पर्छ भन्छु–उनले भने ।
सडक, पुल जस्ता ठूलाठूला भौतिपूर्वाधारका आयोजनाहरु सरकारले आफै एक्लै कार्यान्वयन गर्ने गरेपनि खानेपानीमा नागरिकलालाई शुल्क लिने परिपाटी अब्यवहारिक भएको मन्त्री यादवको भनाइ थियो । मन्त्री यादबले योजना सम्पन्न गर्नको लागि कुनै पनि हालतमा वजेटको कमि हुन नदिने ठोकुवा गरे ।
उनले कुनै कारणले धनकुटाको खानेपानी आयोजनाहरु सम्पन्न गर्ने क्रममा आगामी असार मसान्तसम्ममा सकिएन भने श्रावण लागेर पनि बजेट विनियोजन गरिदिने प्रतिवद्धता दोहोर्याए । अहिलेसम्म आयोजनाको १५ प्रतिसत काम सम्पन्न भैरहेको अवस्थामा अबको अडाई महिनामा ८५ प्रतिसत काम सम्पन्न गर्न चुनौति देखिएकाले धनकुटा स्थित् आयोजना कार्यालयमा कार्यरत कर्मचारीहरुलाई २४ सै घण्टा खटिएर काम सम्पन्न गर्न निर्देशन दिए ।
त्यसैगरी नेपाल सरकारका पुर्व खानेपानी मन्त्री एवं प्रतिनिधिसभामा सदस्य राजेन्द्र कुमार राईले धनकुटा जिल्लामा खानेपानीको लागि विनियोजन भएको वजेट कार्यन्वयन गर्न वहालवाला खानेपानी मन्त्री यादवलाई अनुरोध गरे । राईले भने–पर्षा जिल्लाबाट विजय भएपनि धनकुटा जिल्लालाई पनि माया गरि दिन मन्त्री यादवलाई म अनुरोध गर्छु ।’ उनले खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य र विभागका डिजि रामकुमार श्रेष्ठ र धनकुटा स्थित् संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख भोलाप्रसाद थापालाई चाँडो भन्दा चाँडो खानेपानीका योजनाहरु कार्यान्वयन गर्न अनुरोध गरे ।
त्यसैगरी संघीय सरकारका खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्यले कार्यान्वयनमा गएका आयोजनामा बजेटको कमि हुन नदिने बताईन । बजेट खर्च गर्न आयोजनाहरूको साइड क्लियरेन्स र स्थानिय तहमा खानेपानीको विषयमा आउने विवाद समधानमा स्थानीय सरकार र उपभोक्ताको मुख्य हात हुने शाक्यको जोड थियो । त्यसैगरी धनकुटा स्थित् आयोजना कार्यालयका प्रमुख भोलाप्रसाद थापाले आयोजनको कुल बजेट ७ करोड, ११ लाख रुपयाँ भएपनि लागत वजेट ६ करोड, ४९ लाख, ५९ हजार, ९ सय ६३ रुपैयाँँ रहेको बताए । उनले आयोजनाबाट साँगुरीगढी गाउँपालिका वडा नं.१ र २ का ४ सय ६४ घरधुरीका २ हजार, २ सय, १३ जना बराबरको जनसंख्या लाभान्वित हुने बताएका छन् । ‘खानेपानी आयोजनाको लागि स्थानिय उपभोक्ताले ७२ लाख, १७ हजार बरावरको जनश्रमदान गर्नु पर्नेछ’–आयोजना प्रमुख थापाले भने ।
उनले साँगुरीगढी गाउँपालिकाको वडा नं.२ को तुम्बारीमा निर्माणाधिन १ लाख २५ हजार लिटर क्षमताको खानेपानी ट्याङ्गकीबाट स्थानीय गैरीगाउँ, दानावारी, तम्फूवा, तुम्बारी टोल, कमुवा, तोरीबारी, दुर्गाचोक लगायत स्थानमा बितरण हुनेछ । प्रतिसेकेन्ड ५.२२ लिटर पानी आपूर्ति हुने आयोजनाको मुख्य मुहान कमुवा खोलामा छ । उक्त खोलाबाट लिफ्टीङ प्रविधिमार्फत् २.९ किलोमिटर माथि पुरयाइने छ । उक्त दुरीको विभिन्न स्थानमा २ वटा पम्पिङ स्टेशन रहने आयोजनाका लागि १८ किलोमिटर बितरण पाइप बिस्तार हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय धनकुटाका प्रमुख भोला प्रसाद थापाले जानकारी दिए । आयोजना प्रमुख थापाले आयोजनाहरूको दिगो व्यवस्थापनका लागि स्थानीय सरकार र उपभोक्ताको पनि ठूलो दायित्व हुने बताए । संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय मार्फत धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुममा करिब डेढ अर्ब लागतका १ सय ४० भन्दा बढि खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यान्वयनको चरणमा छन् ।वुढीमोरङ्ग वृहत लिफ्टिङ खानेपानी आयोजना साँगुरीगढी वडा नं.१ र २ उपभोक्ता समितिका अध्यक्ष मान प्रसाद लिम्वुको अध्यक्षतामा सम्पन्न शिलान्यास समारोहमा पालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईको पनि उपस्थिति रहेको थियो ।
अन्य तस्विरहरु :


- dhankutapress