धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटाको जिल्ला अस्पतालको स्तर वृद्धि गरेर विशेषज्ञ सेवा प्रदान गर्ने उदेश्यले सरोकारवालाहरु विच सनिबार छलफल गरिएको छ ।
स्तर उन्नती गरी अस्पतालाबाट विशेषज्ञ सेवा प्रदान गर्न जिल्ला अस्पताल व्यवस्थापन समितिको आयोजनामा सरोकारवालाहरु बिच छलफल गरिएको हो । कोशी प्रदेश सरकार मार्फत सञ्चालनमा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले धनकुटामा ३ सय वेडको सेवा विस्तार गर्ने योजना अघि सारेको विश्वविद्यालयका उपकुलपति सुवास श्री पोखरेलले छलफलमा जानकारी गराए ।
मनमोहन प्राविधिक विश्वविद्यालयको साझेदारीमा धनकुटा जिल्ला अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन र विकास गर्ने विषयमा शनिबार सरोकारवालाहरु विच विस्तृत छलफल भएको हो । जिल्ला अस्पतालको स्तर वृद्धि गरेर विशेषज्ञ सेवा अघि बढाउने योजना अगाडि सारिएको मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति सुवास श्री पोखरेलले बताए । उक्त योजनाको लागि ३ सय रोपनी जग्गा तथा ८ अर्ब बजेट आवश्यक पर्ने उनले बताए ।
योजना अनुसार अघि बढेमा ०८३/०८४ देखि सेवा सञ्चालन गर्न सकिने पोखरेलको भनाइ छ । बाल रोग, स्त्री रोग, न्युरो, मुटुरोगलगायत विशेषज्ञ सेवा उपलब्ध हुने बताइएको छ । सो सन्दर्भमा आयोजना गरिएको बृहत् छलफलमा धनकुटा अस्पतालको १ सय १२ वर्ष लामो पहिचान कायम रहनेगरी ३ सय वेडको शिक्षण अस्पताल सञ्चालन गरिनु पर्नेमा सहभागीले जोड दिएका छन ।
उक्त कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इनद्रमणि पराजुलीले धनकुटासहित पूर्वी पहाडी जिल्ला संखुवासभा, तेह्रथुम र भोजपुर जिल्लाको लागि विशिष्ट विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध हुने भएकाले सेवा सञ्चालन हुनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेशसभाका सांसद निरन राई, ईन्दिरा थापा, अस्पताल विकास समितिका अध्यक्ष निरेन तितुङ तामाङ, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र स्थानिय सञ्चारकर्मीहरुले धारणा राखेका थिए ।
जिल्ला समन्वय समिति धनकुटाका प्रमुख एवं अस्पताल विकास समितिका अध्यक्ष निरेन तितुङ तामाङको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा प्रदेश सरकार मुख्य सचिव राजेन्द्र पोख्रेल, स्वास्थ्य सचिव यदुचन्द्र घिमिरे, नेपाली कांग्रेसका सचिव विजय सताषी राई, नेकपा नेता हेमचन्द्र किराँती, अस्पताल विकास समितिका पुर्व अध्यक्ष नगेन्द्र पोख्रेल, रास्वपाका जिल्ला अध्यक्ष वालेन्द्र दाहाल, श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष आकास राई, नागरिक समाजका अध्यक्ष सुन्दरवावु श्रेष्ठ, अग्रज पत्रकार संजयसन्तोषी राई लगायतले आ–आफ्नो धारणा राखेका थिए । 
- dhankutapress