धनुकटा प्रेस अनलाईन खबर सम्वाददाता
धनकुटा/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नंं.प्रदेश समितिको आयोजनामा आइतबार धनकुटामा पुस्तक परिचर्चा एवंम् आदिवासी अधिकार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ, धनकुटाको सभाहलमा सम्पन्न कार्यक्रममा अधिवक्ता ठगिन कुमार राईद्वारा लिखित ‘नेपालको कानूनी इतिहास र अदिवासी जनजातिहरुको हक, अधिकार सम्बन्धी व्यवस्था’ नामक पुस्तकको परिचर्चा गरिएको थियो ।
पुस्तकमाथि बोल्दै पुस्तकका टिप्पणीकार, आदिवासी अभियन्ता सञ्जोग लाफा मगरले आदिवासी जनजातिहरुको कानूनी सचेतना र सशक्तिकरणमा पुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले राज्यले आदिवासी जनजातिहरुलाई सधैं झुक्याउने काम मात्र गरेको आरोप लगाए । कार्यक्रमको प्रमुख वक्ता समेत रहेका लाफाले आदिवासी जनजातिहरु पनि सक्षम र सचेत भइसकेकाले अब पनि पहिले जस्तै झुक्याउन सम्भव नभएको बताए । राज्यको हरेक र तह निकायमा अब आफ्ना हक, अधिकारका लागि आदिवासी जनजातिले प्रश्न गर्नुपर्ने उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले सबैभन्दा मूख्य कुरा आफ्नो इतिहास भएको बताउदै सबै समुदायले आ–आफ्नो इतिहासको खोजी गर्नुपर्ने बताए। उनले आफ्नो समुदायको भाषा, लिपि, कला, संसकृतिको उत्थानमा सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताए । कार्यक्रमका विशिष्ट अतिथि, धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले सबै जातजाति सवल बने मात्र समग्र मुलुकको विकास हुने भएकाले सबै जाति, वर्ग र समुदायको हकअधिकार सुनिश्चित हुनुपर्ने विचार व्यक्त गरे।
धनकुटाका आदिवासी जनजाति अभियन्ता, अधिकारकर्मी, विभिन्न जातीय संघ–संस्थाका प्रतिनिधि, बुद्धिजिवी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको कार्यक्रम नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, १ नं. प्रदेश समिति अध्यक्ष सन्तवीर लामाको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा फोनिज प्रदेस समितिको तर्फबाट जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङ, प्रमुख जिल्ला अधिकारी पुन्य विक्रम पौडेल, सामाजिक अभियान्ता सञ्जोग लाफा मगर, धनकुटा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत दशरथ राई, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एस्पी श्यामसिं थारु, राष्ट्रिय अनुशन्धानका प्रमुख रुद्र गुर्वाछानेलाई फोटा गुथेर सम्मान गरिएको थियो ।


- dhankutapress