धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
विराटनगर/सर्वसाधरणलाई नक्कली सुन देखाई नगद तथा गरगहना ठगी गर्ने आधा दर्जन गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कोशी प्रदेशका विभिन्न जिल्लाका अस्पताल, विद्यालय, मेला, सार्वजानिक यातयातको साधनहरु, हटिया तथा भीडमा सुटबुटमा सजिएर अपरिचितलाई समेत आफन्त बनाएर ठगी गर्ने नेपाल र भारत घर भएका छ जना ठगी धन्दाका गिरोहहरु पक्राउ परेका हुन् ।
पक्राउ परेका गिरोहहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीको अनुशन्धान टोलीले नियन्त्रणमा लिएर सार्वजानिक गरेको छ । मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाका अनुसार गत कार्तिक २७ गते यो गिरोहले संखुवासभा पाँचखपन गाउँपालिका–५ खपनटोल निवासी ५६ वर्षीय कृष्णबहादुर तामाङको १ लाख १० हजार नगद, आफन्त भएरै चोरी गरेका थिए । विराटटिचिङ अस्पताल बुढीगंगामा श्रीमतीलाई उपचार गराउन आउनु भएका तामाङसँग आफन्त भएको नाता लगाएर उनीहरुले रकम लुटेपछि कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय सुनसरीसँग समन्वय गरेर मोरङ प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर सार्वजानिक गरेको हो ।
प्रहरी उपरीक्षक चिमरियाका अनुसार पक्राउ पर्नेमा झापा तोपगाछी गाउँपालिका १ का ५२ वर्षीय अशोक तामाङ, कन्काई नगरपालिका–९ घैलाडुब्बाका ५९ वर्षीय ढकलबहादुर थिङ्ग, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रविन तामाङ, हल्दीबारी गाउँपालिका–३ बाघडाँडा बस्ने ६६ वर्षीय रामबहादुर कन्दङ्वा, भारतको बंगालस्थित नक्सालवाडीका ५१ वर्षीय नारायण गुरुङ, नक्सलबाडीका ३४ वर्षीय सन्जय शर्मा रहेका छन् ।
उनीहरुको समूहले पूर्वका विभिन्न जिल्ला हरुको मुख्य सहरहरु धरान, इटहरी, विराटनगर लगायतमा नक्कली सुनका टिल, (बिस्कुट) बोकेर सर्वसाधारणसँग चिनजान गर्ने र त्यसपछि आफन्त भएर नजिकीने गरेको खुलेको छ । आफन्त भएपछि उनीहरुको असजिलो बुझेर नक्कली सुन देखाउने, पैसा भएको थाहा पाए झुक्याएर चोरी गरेर फरार हुने गरेको खुलेको छ । होटलमा बस्दा समेत उनीहरुले आफ्नो पहिचान बदल्ने र बारम्बार होटल परिवर्तन गर्ने गरेको प्रहरी उपरीक्षक चिमरियाले जानकारी दिनुभयो ।
हुनेखाने सुकिला मुकाला भलाजी जस्तो राम्रा पोशाकमा सजिएका उनीहरुले पछिल्लो समय विराट टिचिङमा घटाएको घटना सिसी टिभी फुटेजका आधारमा प्राविधिक विश्लेषण गरेर पत्ता लगाइएको थियो । उनीहरुको गिरोहलाई प्रहरीले अशोक तामाङ लुटपाट गिरोहको रुपमा खोजतलास गरेको थियो । खोजतलासको क्रममा सुनसरीको इटहरीमा रहेको खुलेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरी उपरीक्षक चिमरियाका अनुसार उनीहरुको अपराध कार्यविधी समेत फरक देखिएको छ । बुद्धबुद्धासँग नजिक हुने र उनीहरुले लगाएको गहना तथा पैसा चोर्ने मात्रै नभई नक्कली सुन जस्तो वस्तु देखाएर नगद समेत मागि फरार हुने गरेको देखिएको हो । पक्राउ परेकाहरु विरुद्ध मुलुकी अपराध संहिताको परिच्छेद २१ को दफा २४० अन्तर्गत ठगी गर्न नहुने कसुरमा जिल्ला अदालत मोरङबाट म्याद थप भएर अनुसन्धान सुरु गरिएको छ । उनीहरुलाई मुलुकी अपराध संहिताको परिच्छेद २१ को दफा २४० को उपदफा २ (ग) मा व्यवस्था भए बमोजिमको सात वर्ष कैद र ७० हजारसम्म जरिवाना हुनेछ ।
- dhankutapress