धनकुटा प्रेस सम्वाददाता
धनकुटा/मुकुम्लुङ संरक्षण संघर्ष समिति र केबलकार निर्माण कार्य खारेज गर्नु पर्छ भन्दै आन्दोलन गरिरहेका संघर्ष समितिले आव्हान गरेको तमोर करिडोरमा दोश्रो दिन वुधवार पनि विहानै देखी यातयात ठप्प पारेका छन् ।
धनकुटा जिल्लाको साागुरीगढी गाउँपालिका वडा नं.१ लाबरबोटे, याक्चना, हंशमोरङ्ग लगायत विभिन्न चोकमा संघर्ष समितिका नेता तथा कार्यकर्ताहरुले वुधवार विहानै देखी तमोर करिडोरमा साँझ ५ वजेसम्म यातयात आवागमन ठप्प पारेका हुन् । उनीहरुले मुकुम्लुङमा केवलकार निर्माण गर्नु हुँदैन भनेर शान्तिपूर्ण आन्दोलन गरिरहँदा प्रहरी प्रशासनले ४ दिन अघि गोली प्रहार गरी केवलकारको विपक्षमा उत्रिएका सर्वसाधरणहरुलाई गम्भिर घाईते बनाएको विरोधमा अनिश्चितकालिन मेची रजामार्ग, तमोर कोरिडोर यातयात वन्द आव्हान गरेका छन् ।
तमोर करिडोरको यातयात बन्द सफल बनाउनको लागि पहिचानवदाी नेता योगेन्द्र पालुङ्गवा, विश्वादिप तिगेला, जसपा नेपालका नेता सुमन चेम्जोङ लगायत नेताहरु धरानवाट सहभागी भएका थिए । त्यसैगरी कोशी नाम खारेज धनकुटा जिल्ला सघर्ष समितिका सदस्य उद्धवमणी राई, पहिचानवादी यूवा नेता कमलदिप तिगेला, एकल जाति संस्थाका प्रमुख एवं प्रतिनिधिहरु लगायतको नेतृत्वमा पहिचानवादी यूवाहरु तमोर करिडोरमा तैनाथ रहेका थिए । उनीहरुले ताप्लेजुङ्गको मुकुम्लुङमा केवलकार निर्माण गर्ने कार्य नेपाल सरकारले फिर्ता नगरेसम्म आन्दोलन निरन्तर रुपमा अघि वढाउने चेतावनी दिएका छन् ।
तमोर करिडोर बन्द गर्न धनकुटाको लावरबोटे आईपुगेका संघर्ष समितिका सदस्य एवं पहिचानवादी मोर्चाका नेता योगेन्द्र पालुङ्गवाले भने–‘चन्द्रे ढकालले केवलकार निर्माण कार्य नरोकेसम्म आन्दोलन निरन्तर अघि वढ्नेछ ।’ उनले मुकुम्लुङ बचाउ संघर्ष समिति र केवलकार खारेज गर्न संघर्ष समितिको माग र मुद्धालाई सरकारले सम्वोधन नगरेसम्म आन्दोलन निरन्तर जारी रहने बताएका छन् । वुधवार लावरवोटेमा भेला भएका नेता कार्यकर्ताहरुले भाटा, लाठी बोकेर तमोर करिडोरको हंशमोरङ्ग, याक्चाना, लाववोटे चोक, वुढिमोरङ्ग लगायत करिडोर सडक तथा चोकमा भेला भएर मार्चपास समेत गरेका थिए । उनीहरुले दिनभर कुनै पनि प्रकारको सार्वजानिक यातयातको साधनहरु चल्न दिएन्न । भोली पनि आन्दोलन निरन्तर रहने बताइएको छ ।
- dhankutapress