धनकुटा प्रेस सम्वाददाता
धनकुटा/नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तोकिएको मितिमा चुनाव हुनुपर्ने बताएका छन् । सनिबार नेपाली कम्युनिस्ट पार्टी धनकुटाले आयोजना गरेको एकता सभालाई सम्बोधन गर्दै सह–संयोजक नेपालले यस्तो बताएका हुन् ।
उनले भने– ‘अहिले संघियता रक्षाका लागि तोकिएकै मितिमा यो सरकारले चुनाव गराउँनु पर्दछ ।‘ उनले गणतन्त्रको रक्षा गर्न, संघियताको रक्षा गर्न चुनाव तोकिएकै मितिमा हुनु पर्नेमा जोड दिए । उनले थपे–‘संविधान रक्षा गर्ने जिम्मा हाम्रो रहेको बताउँदै अहिलेको शुसिला कार्किको सरकार सर्वस्विकार्य रहेको छ ।‘ चुनाव छिटो सम्पन्न हुनुपर्ने र चुनावको बिकल्प नरहेको बताउँदै संघियता रक्षका लागि आफ्नो ठाउँबाट सबै लाग्नु पर्ने उनको भनाई रहेको थियो ।
नेता नेपालले देसको चौतर्फी विकास गर्न पार्टी एकता भएकाले केही पार्टीहरुलाई मिलाउँदै मिलाउँदै अहिले १८ वटा पार्टी एक भएको बताए । कुनै पनि पार्टीले यसरी एकता गर्न नसकेको र नेपाली समाजवाद नेपाली कम्युनिष्ट पार्टीमा मात्रै रहेको उनको भनाई थियो । गणतन्त्र र संघियता रक्षाका लागि आफ्नो पार्टी एकता आवश्यक रहेको र यदि कसैले प्रश्न गरे त्यसको जवाफमा प्रतिकारमा उत्रिन समेत उनले कार्यकतालाई आग्रह गरे ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीलाई अत्याधिक मत दिएर जिताई देसको चौतर्फी विकास निर्माणमा एक भएर अघि वढ्न आफ्ना कार्यकर्तालाई आग्रह गरे । अहिलेसम्म कुनैपनि पार्टीले विकास निर्माणमा काम राम्रोसंग गर्न नसकेको बताउँदै पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले अवको विकास आफ्नो पार्टीले मात्रै गर्न सक्ने दाबी गरे ।
यस्तै फरक प्रसङ्गमा नेता नेपालले भने–‘गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलन पश्चात् देशको सुरक्षाका लागि ठूला दल भनिएका नेपाली कांग्रेस र नेकपा एमाले देश रक्षा गर्नुपर्ने ठाउँमा भित्रबाट बाहिर ननिस्किएको आरोप लगाए । उनले राष्ट्रपतिको फोन आउँदा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एकिकृत समावबादीकोतर्फबाट आफू बाहिर निस्किएर राष्ट्रपतिलाई भेट्न गएको तर अन्य ठूलादलका नेता बाहिर नआएको आरोप लगाए ।.
आयोजित पार्टी एकता सभामा विभिन्न पालिकाबाट हजारौंको संख्यामा नेपाली कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । धनकुटाको त्रिवेणी माविमा एकता सभा हुनुपूर्व धनकुटा वजारको विभिन्न भागको नाराजुलुस सहित परिक्रमा गरेका थिए । नेपाली कम्युनिष्ट पार्टी धनकुटा जिल्ला संयोजक कुसुम कुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न एकता सभामा पुर्व प्रदेस नं.१ का मुख्यमन्त्री राजेन्द्र राई लगायत प्रदेस स्तरिय एवं केन्द्रिय नेताहरुले सम्वोधन गरेका थिए । 
- dhankutapress