Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

आसन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले धनकुटामा कस्ले पाउँला टिकट ?

  •   १० महिना अघि | २५ पुस २०८२, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/नेकपा एमाले धनकुटाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि केन्द्रमा पठाएको एकल उम्मेदवारको सिफारिस एमालेकै प्रदेश कमिटीले उल्टाइदिएको छ ।

पुस २० गते आइतबार धनकुटामा बसेको जिल्ला कमिटीको बैठकले २ जनाको असमतिका बीच पनि नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री राजेन्द्र कुमार राईलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटाबाट एकल नाम सिफारीस गरेको बताइएको थियो । तर, उम्मेदवारका आकांक्षी तथा नेकपा एमालेका निवर्तमान केन्द्रिय सदस्य सकुन्तला बस्नेत र कोशी प्रदेश कमिटीका उपाध्यक्ष टीकाराम चेम्जोङले आपत्ति जनाएका थिए ।

निवर्तमान केन्द्रिय सदस्य बस्नेतले विज्ञप्ती जारी गर्दै केन्द्रले महिलासहित ३ जनाको नाम सिफारीस गर्न दिएको परिपत्र विपरित आकांक्षीहरु हुँदाहुँदै बहुमतको दम्भ देखाउँदै एकल नाम सिफारीस गरिएको भन्दै आपत्ति जनाएका थिए ।  त्यसैगरी एमाले कोशी प्रदेस कमिटि उपाध्यक्ष टिकाराम चेम्जोङले सामाजिक सञ्जालमा जिल्ला कमिटीले आकांक्षीहरुसँग सल्लाह नै नगरी पठाएको नाम उपर स्वीकार्य नहुने बताएका थिए ।

विगठित प्रतिनिधिसभाका सदस्य समेत रहेका राईले जिल्ला कमिटी मार्फत आफ्नो एकल नाम सिफारिस गराउन सफल भएका थिए । तर, कोशी प्रदेश कमिटीको सचिवालय बैठकले दुई जना आकाक्षीको नाम थप गर्दै केन्द्रमा पठाउने निर्णय गरेको छ । प्रदेशले धनकुटाबाट आकांक्षी टिकाराम चेम्जोङ र शकुन्तला बस्नेतको नाम थप गरी केन्द्रमा पठाउने निर्णय गरेको छ ।

प्रदेश कमिटीले थप २ जनाको नाम सिफारीस गरेसँगै धनकुटामा एमाले धनकुटामा थप द्धन्द्ध चर्किँदै गएको छ । राई अहिलेसम्म ३ पटक उम्मेदवार भएर २ पटक विजयी भइ सकेका छन् । पछिल्लो समयमा जेन्जी पुस्ताले समेत नयाँ मान्छेको खोजी गरिरहेका बेला एमालेबाट नेतृत्व परिवर्तन हुन्छ भन्ने थियो । तर राईको मात्रै सिफारीस भएपछि फागुन २१ गते हुने निर्वाचनमा राईले टिकट पाउने पक्कापक्की थियो । तर एमाले प्रदेश कमिटीले २ जना आकांक्षीको नाम पनि सिफारीस गरेसँगै धनकुटामा कसले टिकट पाउँछ भन्ने चासो बढ्न थालेको छ ।

पछिल्लो समयमा धनकुटामा नेकपा एमालेभित्र इन्द्रमणी पराजुली पक्ष र राजेन्द्र राई पक्षबीच आपसी टकराव बढ्दै गएको छ । पार्टीकोे ११ औं महाधिवेसनमा प्रतिनिधि छनोटका लागि मंसिर १३ गते भएको निर्वाचनमा पराजुली पक्षलाई बाइपास गर्दै राई पक्षबाट १३ जना निर्वाचित भएका थिए ।

महाधिवेसन छनोटमा भएको मतदान फर्जी भएको भन्दै पराजुली पक्षबाट केन्द्रमा उजुरी परेको थियो । सो उजुरी कार्यान्वय गराउन र जिल्लाको निर्णय कार्यान्वयन गराउन दुबै पक्षले भएभरको बल नै लगाएको थियो । अन्ततः ४ जनालाई केन्द्रबाट महाधिवेसन प्रतिनिधि मनोनित गराउनेगरी दुबैपक्ष राजी भएका थिए ।

जिल्लाबाट महाधिवेसन प्रतिनिधि हुनबाटै रोकिएकी मनकुमारी तितुङ तामाङ (तारा) केन्द्रबाट मनोनित भएर केन्द्रिय सदस्य निर्वाचित भएकी छन् भने राई पनि केन्द्रिय सदस्य रहेका छन् । पुर्व मन्त्री समेत रहेका राई हाल एमाले धनकुटाका जिल्लाको इन्चार्जको भुमिकामा समेत रहेका छन् ।

  • dhankutapress

थप