धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटा नगरपालिकामा कार्यान्वयन भईरहेको लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यको लागि एकिकृत सेवा पहुँच परियोजना अन्तर्गत गठित पुरुष सञ्जालको शुक्रवार नियमित बैठक बसेको छ । संजालको वैठकले धनकुटा नगरको १० वटै वडामा पुरुष संजाल गठन गर्ने निर्णय गरेको हो ।
विश्व वैंकको आर्थिक तथा प्राविधिक सहयोगमा संचालन भईरहेको उक्त परियोजना अन्तर्गत गठित पुरुष सञ्जाल धनकुटा नगरको वैठक संयोजक धनवहादुर खड्काको अध्यक्षतामा वसेको हो । वैठकमा परियोजना विज्ञ नुषराज श्रेष्ठले आ.व.०८१÷०८२ मा लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यको लागि एकिकृत सेवा पहुँच परियोजना अन्तर्गत संचालन भएको कार्यक्रमहरुको वार्षिक प्रगती प्रतिवेदन प्रश्तुत् गरे ।
हिंसा रोकथाम तथा प्रतिकार्यको लागि अघिल्लो आथिक बर्षमा संचालन गरिएको कार्यक्रमहरुको प्रगती प्रतिवेदनमा आधारित भएर पुरुष संजालका सदस्यहरुले वैठकमा समिक्षा समेत गरेका छन् । विषय विज्ञ श्रेष्ठले अघिल्लो आर्थिक वर्षमा लैगिक हिंसा रोकथाम तथा न्यूनिकरण प्रतिकार्य अन्तर्गत नगर स्तरिय २ वटा सचेतना तालिम संचालन गरिएको र तालिम पश्चात पुरुष संजाल गठन गरिएको जानकारी दिए ।
त्यसैगरी लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानमा धनकुटा नगरपालिका वडा नं.१ हिले बजार र धनकुटा नगरपालिका वडा नं.५ मा रहेको विहिबारे हटियामा हिंसा रोकथाम तथा न्यूनिकरण सम्वन्धी नाटक समेत प्रदर्शन गरिएको थियो । अघिल्लो वर्ष संचालन भएका लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यको लागि एकिकृत सेवा पहुँच परियोजना अन्तर्गत संचालित कार्यक्रममा ५ सय ४० जना नगरवासी सहभागी भएको परियोजनाको स्रोत व्यक्ति फूलमाया घिसिङ्गले जानकारी दिएकी छिन् ।
त्यसैगरी चालु आर्थिक वर्षमा संचालन हुने विविध कार्यक्रमहरुको बारेमा पनि वैठकमा जानकारी दिइएको छ । जस अन्तर्गत चालु आर्थिक वर्षमा धनकुटा नगरपालिकाको १० वटै वडामा वडा स्तरिय पुरुष संजाल गठन गर्ने, हिंसा रोकथाम तथा प्रतिकार्यको लागि सचेतना कार्यक्रम, किशोर किशोरी रुपान्तरण कार्यक्रम र अवलोकन तथा मूल्याङ्गकन भ्रमण आदि रहेको परियोजना विज्ञ नुषराज श्रेष्ठले जानकारी दिएका छन् ।
धनकुटा नगरपालिकाका उप–प्रमुख भीमादेवी खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको पुरुष सञ्जालको वैठकमा लैंगिक हिंसा न्यूनिकरण समाजको साझा सरोकारको विषय भएकोले समाजमा सरोकार राख्ने सवैखाले संघसंस्थाका जिम्मेवार प्रमुख एवं प्रतिनिधिहरु लागि पर्नु पर्नेमा जोड दिइएको छ । सो अवसरमा वोल्दै उप–प्रमुख खनालले भने–‘लैंगिक हिंसा महिलाको मात्र सरोकारको विषयको रुपमा हेर्ने र वुझ्ने गरिएको यस्लाई चिर्न सक्नु पर्छ ।’
उनले यस समश्यालाई समग्रतामा सम्वोधन गर्न सवैको सहभागिता र भूमिका अपरिहार्य रहेको औल्याएकी छन् । उनले लैंगिक हिंसा के हो ?, लैंगिक हिंसाका प्रकार र स्वरुप कस्ता/कस्ता हुन्छन्, लैंगिक हिंसा विरुद्ध कानुनी कारवाही र सजायको व्यवस्था के छ, उजुरी कस्ले गर्ने, यस्तो हिंसाबाट कसरी वच्ने आदिका बारेमा पुरुष संजालका सदस्यहरु जानकार हुनु पर्नेमा जोड दिएका थिए ।
- dhankutapress