धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धार्मिक तथा सांस्कृतिक गन्तव्यका रुपमा विकास भइरहेको धनकुटाको मुलघाटमा रहेको विश्रान्ति मन्दिरले आफ्नो ४३ औं वार्षिकोत्सव तथा विश्रान्ति गुरुकुलको पाँचौं वार्षिकोत्सव सम्पन्न भएको छ ।
वि.सं. २०४० सालमा मृत्यु भएका मानिसको सवदाह गर्दा दाउरा दिने उदेश्यले विश्रान्ति धामको स्थापना भएको थियो भने विश्रान्ति मन्दिरमा वि.सं.२०४२ सालदेखि वृद्धाश्रम सञ्चालनमा आएको हो । सुरुमा दुई जना वृद्धवृद्धाबाट सेवा सुरु गरिएको आश्रममा हाल ३० जना वृद्धवृद्धा आश्रित रहेका छन् ।
यसैगरी, वि.सं. २०७९ सालमा स्थापना गरिएको गुरुकुलमा सुरुमा ४ जना विद्यार्थी अध्ययनरत थिए भने हाल विद्यार्थी संख्या बढेर ४० जना पुगेको छ । गुरुकुलमा ७ जना शिक्षक तथा १ जना स्वामीले अध्यापन तथा धार्मिक प्रशिक्षण कार्य गरिरहेका छन् । विश्रान्ति मन्दिर आस्तिक तथा नास्तिक दुवैका लागि प्रेरणाको केन्द्रका रुपमा विकसित हुँदै गएको मन्दिरले धार्मिक कार्यसँगै सामाजिक सेवामा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।आर्थिक व्यवस्थापनका लागि सञ्चालन गरिएको ‘रु १ बाट एक करोड’ अभियानमार्फत हालसम्म ३ हजारभन्दा बढी व्यक्तिले सहयोग गरेका छन् । सोही अभियानबाट संकलित रकम तथा अन्य अक्षय कोष गरि विभिन्न नामका अक्षय कोषमा हाल साढे ३ करोड रुपैयाँभन्दा बढी रकम रहेको विश्रान्ति मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरे ‘गोठाले’ले जानकारी दिए ।
आश्रममा वृद्धवृद्धाको हेरचाहका लागि ८ जना स्वयंसेवक परिचालन गरिएको छ । साथै परिसरभित्र गाईपालन, अग्र्यानिक तरकारी तथा फलफूल खेतीसमेत सञ्चालन गरिएको छ, जसबाट आश्रमका आश्रितलाई दैनिक अग्र्यानिक खानाको व्यवस्था मिलाइएको छ । २२ रोपनी क्षेत्रफलमा फैलिएको विश्रान्ति मन्दिर परिसरमा दाताहरुको सहयोगमा विभिन्न संरचनाहरु निर्माण गरिएको छ । संस्थाले धार्मिक, शैक्षिक तथा सामाजिक गतिविधिहरुलाई एकैसाथ अघि बढाउँदै आएको जनाएको छ ।
वार्षिकोत्सव कार्यक्रममा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड धनकुटाले सामाजिक उत्तरदायित्व अन्तरगत विश्रान्ति वृदाश्रम तथा गुरुकुललाई एक लाख रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा तथा लजिस्टिक सामग्री हस्तान्तरण गरेको थियो ।
- dhankutapress