धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटा उद्योग वाणिज्य संघको आगामी कार्यसमिति निर्वाचनका लागि ३ जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । यस्तै अध्यक्ष बाहेक अन्य पदमा ३४ जनाको उम्मेदवारी परेको छ । आगामी भदौ ६ गते उद्योग वाणिज्य संघ धनकुटामा नयाँ कार्यसमितिको लागि निर्वाचन हुँदैछ ।
गत साउन १६ गते सम्पन्न भएको ४६ औँ साधारण सभा तथा अधिवेशनले निर्वाचन समिति घोषणा गरेसँगै निर्वाचन समितिको बैठकले निर्वाचन मिति भदौ ६ गतेलाई तय गरेको थियो । निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको नामावली अनुसार अध्यक्ष पदमा कृष्णराज श्रेष्ठ, मनकुमारी तितुङ (तारा) र रामबहादुर रायाले उम्मेदवारी दर्ता गरेका छन् । संघको आगामी ३ वर्ष कार्यकालका लागि अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेसँगै त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । जसमा श्रेष्ठ वर्तमान कार्यसमितिको उपाध्यक्ष, तितुङ वरिष्ठ उपाध्यक्ष र राया कार्यबहाक महासचिब रहेका छन् ।
यस्तै वरिष्ठ उपाध्यक्ष पदमा अम्बिकादेवी धमला र विक्रम प्रधानले उम्मेदवारी दिएका छन् । त्यस्तै दुई जना उपाध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ । जसमा विष्णुमाया कन्दङ्वा राई, नगेन्द्रप्रसाद काफ्ले, रिदम श्रेष्ठ, सरस्वती मगर र सुनिता पौडेल रहेका छन् । यसैगरि एक जना महिला उपाध्यक्ष पदका लागि निर्मला राई (श्रेष्ठ) र रेजिना पालिखेले उम्मेदवारी दिएका छन् । महासचिव पदमा उज्ज्वल कर्माचार्यको एकल उम्मेदवारी परेको छ भने एक जना सचिव पदको लागि उर्गेन शाक्य र महेन्द्र थापाको उम्मेदवारी परेको छ ।
उम्मेदवारी परेका मध्ये उज्ज्वल कर्माचार्य (महासचिव) तुमराज लिम्बू (वस्तुगत सदस्यं), सफल राई (वस्तुगत सदस्य), लिजा श्रेष्ठ (वस्तुगत सदस्य), राजु प्रधान (उद्योग सदस्य), गङ्गा गुरुङ (महिला सदस्य) र प्रमिसा श्रेष्ठ थापा (महिला सदस्य) निर्विरोध निर्वाचित भएका छन । अब बाँकी रहेको १२ पदका लागि भाद्र ६ गते निर्वाचन हुनेछ ।
- dhankutapress