धनकुटा प्रेस सम्वाददाता
हेन्साङ्ग डि. लामा
धनकुटा/कोशी प्रदेसको प्रमुख पर्यटकीय स्थल धनकुटाको भेडेटारमा सदा झै यस वर्ष पनि ‘भेडेटार फुड फेस्टिवल’ (खाना महोत्सव) हुने भएको छ ।
होटल एसोसिएसन अफ भेडेटारले आगामी पौष १६ देखि १८ गतेसम्म ‘१३ औँ फुड फेस्टिवल (खाना महोत्सव) गर्ने भएको हो । अंग्रेजी नयाँ वर्षको अवसर पारेर तीन दिनसम्म सञ्चालन हुने फेस्टिवल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको होटल एसोसिएसन अफ भेडेटारले वुधबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो । फुड फेष्टिबलको उद्धघाटन कोशी प्रदेसका मुख्य मन्त्री हिकमत कार्कीले गर्ने भएका छन् ।
धरान र धनकुटाको पर्यटन प्रवद्र्धनमा भेडेटारको उल्लेख्य भूमिका रहेकाले यसको अझै प्रचारप्रसार गर्न र पर्यटनसँगै आर्थिक विकासका लागि अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा फेस्टिवल आयोजना गर्न लागिएको होटल एसोसिएसन अफ भेडेटारले जनाएको छ । पूर्व आउने विदेशी पर्यटकहरुमा सबैभन्दा धेरै भारतीय हुने गरेको र नयाँ बर्षमा भारतीयहरुको बिदा हुने भएकाले उनीहरुलाई पूर्वी नेपाल र विषेश गरि भेडेटारमा आकर्षित गर्न फेस्टिवलको आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।
फेष्टिबल (खाना महोत्सव) ले ओझेलमा परेका ऐतिहासिक, धार्मिक, साँस्कृतिक परम्परागत तथा पर्यटकीय स्थलहरुको प्रचार–प्रसार हुने आयेजकको भनाई छ । फेस्टिवलमा करिब २ करोड भन्दा माथिको आर्थिक कारोवार हुने आयेजकले अनुमान गरेको छ । फेस्टिबलमा ५० देखी ६० हजार पर्यटक भित्राउने लक्ष्य रहेको होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए । तीन दिनसम्म हुने फेस्टिवलमा विभिन्न जातिका जातिय परिकारका स्टल, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादनमा आधारित कृषि मेला लगायत २५ देखि ३० वटा स्टलहरु राखिने आयोजकले जनाएको छ ।
तीन दिनसम्म हुने फेष्टिबलमा आगन्तुक पर्यटकहरुले पाथिभरा मन्दिर दर्शन, साँगुरीगढी अवलोकन, स्काई व्रीज भ्रमण, नमस्ते झरना भ्रमण र भेडेटार वा नाम्जेमा होम स्टे बास, खुवालुङ्ग ध्वजे पद मार्ग, ध्वजेडाँडा सुर्योदय अवलोकन, एसियाको दोस्रो ठुलो अजङ्गको बरको रुख भ्रमण, राजारानी तालको अवलोकन र बस्नको लागी नाम्जे वा डाडाँवजार होमस्टे र खानाको प्याकेज बनाइएको छ । फेष्टिबल (खाना महोत्सव) मा पर्यटकहरुले स्थानिय जातिय परम्परागत खानेकुराहरुको स्वाद लिन हेर्न बुझन पाउने, भेडेटारका पर्यटकीय स्थलहरु घुम्ने र मनोरञ्जन लिन सक्ने, साना तथा ठुला होटल व्यवसाय फस्टाउने र पर्यटकहरुको आगमन वढ्ने र भेडेटारमा लगानीको अवसरहरु सृजना हुने आयोजकको लक्ष्य रहेको छ ।
फेष्टिबलमा मुख्य सहयोगी साँगुरीगढी गाउँपालिका, मुख्य प्रयोजक गोर्खा व्रुअरी,सह–प्रायोजक नेपाल लिक्यूअर्स प्रा.लि., रोयल काठमाण्डौं, एग्रो थाइ फुड, प्रिमियर डिष्टिलरी रहेको छ । प्रवद्र्धकमा नेपाल टुरिजम वोर्ड र कोशी प्रदेस सरकार पर्यटन वर्ष–२०८२ रहेको छ । त्यसैगरी अन्य सहयोगी संस्थाहरुमा छथर जोरपाटी, चौविसे र सहिदभुमि गाउँपालिका तथा धनकुटा, महालक्ष्मी, पाख्रिबास नगरपालिका र सुनसरीको धरान उप–महानगरपालिका रहेको छ । फेस्टिवल (खाना महोत्सव) मा २५ लाख भन्दा माथि खर्च हुने अध्यक्ष लिम्वूले अनुमान गरेका छ । २०६९ सालदेखि हरेक वर्ष हुँदै आएको फेष्टिबल कोभिड १९ का कारण २०७७ सालमा सञ्चालन हुन सकेको थिएन । पत्रकार सम्मेलनमा छिमेकी राष्ट्र भारतका आधा दर्जन पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।
- dhankutapress