पञ्चमाया तामाङ
धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटामा रहेको गर्गाचार्य सामुदायीक विश्वभाषा पुस्तकालयले चौधौं वार्षिकोत्सब, साधारणसभा, सम्मान कार्यक्रम एवंम काव्य गोष्ठीमा सनिवार विभिन्न व्यक्ति तथा संस्थालाई पुरस्कृत गरेको छ ।
बार्षिक उत्सवको अवसरमा ६ जना विभिन्न विद्यामा ख्याति प्राप्त व्याक्तित्वहरु एवं संस्थालाई सम्मान एवं पुरस्कृत गरिएको हो । जसअन्तर्गत यस वर्षको गर्गश्री सम्मान धनकुटाको विश्रान्तिधाम संस्कृत गुरुकुललाई प्रदान गरिएको छ। संस्कृत भाषा तथा वाङमय संरक्षणमा योगदान पु¥याएको भन्दै धनकुटा नगरपालिका ९ मुलघाटमा रहेको गुरुकुल संस्कृति विद्यालय विश्रान्तिलाई नगद ५ हजार १ सय ११ रुपैयाँ सहित सम्मान गरिएको हो । २०७९ जेठ २ बाट सञ्चालनमा गुरुकुलमा कक्षा ६–१२ सम्म वेद, संस्कृत भाषा पढाइ हुँदै आएको छ ।
यस्तै भास्कर लामिछाने लोक संस्कृति पुरस्कार धनकुटा भीरगाउँका स्व. धरणीधर गुरागाँईलाई प्रदान गरिएको छ । गुरागाँईलाई नगद १० हजार १ सय ११ रुपैयाँ राशिको पुरस्कार गुरागाईँका भाइ चन्द्रमणि गुरागाईँलाई प्रदान गरिएको थियो । यता मधुश्री साहित्य विशिष्ठ पुरस्कार दाङकी पछिल्ला पुस्ताकी जल्दाबल्दा साहित्यिक व्याक्तित्व बुनु लामिछानेलाई प्रदान गरिएको छ । महाकाव्य, खण्डकाव्य प्रकाशन गरिसक्नुभएकी लामिछानेलाई नगद १५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो ।
त्यसैगरी कृष्णकुमारी वेणीमाधव समाजसेवा पुरस्कारबाट धनकुटाका समाजसेवी दोर्णप्रसाद गुरागाईलाई नगद सहित सम्मान गरिएको छ । धनकुटामा रहेर समाजसेवा योगदान दिएको भन्दै गुरागाईलाई नगद १० हजार १ सय ११ रुपैयाँ सहित सम्मान गरिएको हो । यस्तै धनमाया लामिछाने स्मृति साहित्य पुरस्कारबाट झापाकी मनु विश्वकर्मालाई नगद ५ हजार १ सय ११ रुपैयाँ र लक्ष्मीकान्त देवकर्ण रुकमणी काफ्ले स्मृति पुरस्कारबाट सुनसरीका पण्डित रेवतीप्रसाद घिमिरेलाई ५ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको हो ।
सो अवसरमा संगिनी, श्लोक, स्व. धरणीधर गुरागाईका गित प्रस्तुत गरिएको थियो भने स्रष्टाहरुले कविता, मुक्तक, गजल र गीत प्रस्तुत गरेका थिए । धनकुटा ५ देवानटारमा २०६८ सालमा टीकाप्रसाद लामिछानेले २ करोड बराबरको जायजेथा उपलब्ध गराएर पुस्तकालयको स्थापना गरेका छन् । पुस्तकालयमा हाल ४० हजार पुस्तक, १३ हजार ७ सय ६४ पत्रपत्रिका सहित ५ करोड बढीको चलअचल सम्पत्ति रहेको पुस्तकालयका महासचिव मुकुन्द प्रयासले बताए । पुस्तकालयले हरेक वर्ष गर्गश्री सम्मान र लक्ष्मीकान्त देवकर्ण रुकमणी काफ्ले स्मृति पुरस्कार प्रदान गर्दै आएको छ भने अन्य ९ विधाका पुरस्कार हरेक २ वर्षमा प्रदान गर्दै आएको छ । पुस्तकालयले हालसम्म ८ दर्जन बढी पुरस्कृत गरिसकेको जनाएको छ ।
- dhankutapress