धनकुटा प्रेस सम्वाददाता
हिले/नाग पञ्चमीको अवसरमा धनकुटाको हिलेस्थित धार्मिक तथा पर्यटकीय स्थल बक्रकुण्ड मन्दिरमा धार्मिक मेला लागेको छ । धार्मिक मेलासंगै विभिन्न पालिकाबाट आएको भजन कृर्तन समुहले आ–आफ्नो प्रश्तुती देखाएका छन् ।
सो अवसरमा जिल्लाको विभिन्न पालिकाबाट वक्रकुण्ड मन्दिरको दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । धनकुटासहित तेह्रथुम, भोजपुरलगायत विभिन्न जिल्लाबाट आएका करिव ५ हजारभन्दा बढी भक्तजनहरुले बक्रकुण्ड मन्दिरको दर्शन गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालचन्द्र गोङ्गवाले बताएका छन् ।
हरेक वर्ष नाग पञ्चमीका दिन बक्रकुण्ड मन्दिर परिसरमा विशेष मेला तथा पूजाआजा हुने गरेको छ । नागदेवताको बसोबास रहेको विश्वास गरिने यस मन्दिरमा नाग पञ्चमीका दिन पूजाआजा तथा दर्शन गरे सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको स्थानीय कृष्ण घिमिरेले जानकारी दिए । मन्दिरमा नागदेवतासहित एक सय ८ देवीदेवताको वास रहेको विश्वास गरिन्छ । मन्दिरको आसपासका ठूला ठूला ढुङ्गाका पत्थरमा नाग देवतासहित विभिन्न देवीदेवताका आकृति रहेको स्थानीयहरु बताउँछन् ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालचन्द्र गोङ्वा तामाङले मन्दिरको १६औँ स्थापना दिवस तथा नाग पञ्चमीको अवसरमा विशेष पूजाआजा तथा विभिन्न समूहको भजन कृतन सहित धार्मिक मेला आयोजना गरिएको जानकारी दिए । उनका अनुसार वि.सं. २०६७ सालमा नाग पञ्चमीकै दिन सो स्थानका ढुङ्गाका पत्थरहरु र ढुङ्गाका कापमा नागदेवताको आकृति देखिएपछि मन्दिर स्थापना गरिएको हो । ति नाग देवताको आकृतिहरु अहिले पनि प्रत्यक्ष रुपमा त्याहाँ पुग्ने जो कोहि भक्तजनहरुले अवलोकन गर्न सक्छन् ।
नाग पञ्चमीबाहेक महाशिवरात्रिका अवसरमा पनि बक्रकुण्ड मन्दिरमा विशेष धार्मिक मेला तथा पूजाआरधना हुने गरेको छ । पछिल्लो समय मन्दिर धार्मिक आस्थाको साझा केन्द्रसँगै पर्यटकीय गन्तव्यका रूपमा समेत विकास हुँदै गएको छ । कार्यक्रमको समुद्धघाटन गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बक्रकुण्ड मन्दिर हिलेको धार्मिक महत्व बोकेको स्थल मात्र नभई प्रदेस कै महत्वपूर्ण पर्यटकीय गन्तव्यसमेत रहेको बताए । उनले नगरपालिकाले यस क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर आवश्यक विकास तथा प्रवद्र्धनका काम गर्दै आएको जानकारी दिए । उनले स्थापना काल देखि नै वक्रकुण्ड मन्दिरको वृद्धि विकासको लागि लगानी गर्दै आएको बताए ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालचन्द गोङ्गवाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा धनपा–१ का वडा सदस्य सुवास राना मगर, हिले माविका प्रधानाध्यापक गणेश पिठाकोटे, स्थानिय समाजसेवी दिपक घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यसैगरी रत्नषडेश्वर शिवालय मन्दिरका भजन कृतन समुह लगायतले भजन कृतन प्रश्तुत् गरेका थिए भने हिले झिंगु समाजले लाखे नाच प्रश्तुत् गरेका थिए । हरेक वर्ष धनकुटा नगरपालिकाले बक्रकुण्डमा लाग्ने नागपञ्चमी धार्मिक मेलाको लागि वजेट विनियोजन गर्दै आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
- dhankutapress