सन्तवीर लामा
धनकुटा/ताप्लेजुङ्ग जिल्लामा अवस्थित् मुक्कुमलुङ्ग (पाथीभरा) क्षेत्रमा संचालन गर्न खोजिउको केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनकुटा मार्फत नेपाल सरकारलाई विहिवार ज्ञापनपत्र वुझाइएको छ ।
किराँत याक्थुङ्ग चुम्लुङ्ग जिल्ला कार्य समिति धनकुटाको अगुवाईमा मुक्कुमलुङ्ग क्षेत्रमा जवर्जस्ती ढंगले निर्माण गर्न लागिएको केवलकार परियोजना खारेजीको माग गर्दै ज्ञापन पत्र वुझाइएको हो । मुकुम्लुङ केवल ताप्लेजुङ जिल्लाको मात्र धार्मिक स्थल नभएर, यो सम्पूर्ण लिम्बुवानका याक्थुङ र लिम्बु समुदाय र अन्य सवैखाले समुदायको सभ्यता, इतिहास, पहिचान र अस्तित्वसँग गाँसिएको पवित्र भूमि भएको प्रेसित ज्ञापन पत्रमा उल्लेख गरेका छन् । उनीहरुले ज्ञापन पत्रमा भनेका छन्–‘ जिल्ला र प्रशासनिक सीमाहरू राज्यले निर्धारण गरेको संरचना हुन् तर मुकुम्लुङको इतिहास हजारौं वर्ष पुरानो छ ।‘ त्यसैले मुकुम्लुङ्गको सवाल कुनै एउटा जिल्लाको सीमाभित्र सीमित हुन सक्दैन भन्दै जारी ज्ञापन पत्रमा सम्पूर्ण लिम्बुवानवासी र सबै नेपालीहरूको साझा सांस्कृतिक तथा ऐतिहासिक सवाल भएको उनीहरुको दावी छ ।
ज्ञापन पत्र वुझाउँदै कियाचु धनकुटाका अध्यक्ष हेमकुमार आङ्गलाले भने–‘लिम्बुवान क्षेत्रको सभ्यता आधुनिक नेपाल निर्माणभन्दा धेरै पुरानो मानिन्छ ।‘ उनले आदिवासी याक्थुङ समुदायले प्रकृतिसँगको सम्बन्ध, मौलिक भाषा, संस्कार, संस्कृति, धार्मिक विश्वास र सामुदायिक शासन प्रणालीलाई लिम्वुवानवासीले पुस्तौंदेखि जोगाउँदै आएको बताए । मुकुम्लुङलाई यहाँका आदिवासी लिम्वू समुदायले केवल एउटा डाँडा वा भूभागको रूपमा मात्र होइन, पुर्खाको आत्मा बस्ने स्थान, मुन्धुमसँग जोडिएको पवित्र स्थलको रूपमा सम्मान गर्छन । यस कारण मुकुम्लुङमाथि कुनै पनि हस्तक्षेप हुनु भनेको केवल भूमिमाथिको परिवर्तन होइन, सिङ्गो समुदायको आत्मा र पहिचानमाथिको हस्तक्षेप भएकाले केवलकार निर्माण परियोजना खारेज गर्नुको विकल्प नरहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
जारी ज्ञपन पत्रमा भनिएको छ–‘मुकुम्लुङको सांस्कृतिक अस्तित्व हजारौँ वर्षदेखि जीवित छ । त्यसैले यसको संरक्षणको आवाज ताप्लेजुङबाट मात्रै उठ्नु स्वाभाविक भए पनि यसको जिम्मेवारी सम्पूर्ण लिम्बुवान क्षेत्र र नेपाल राज्यको हो । किनभने नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो । यहाँ रहेका सबै समुदायको इतिहास र संस्कृतिको सम्मान गर्नु राष्ट्रिय कर्तव्य हो । यदि कुनै समुदायको पवित्र धार्मिक स्थल, भाषा, संस्कृति वा पहिचानलाई बेवास्ता गरिन्छ भने त्यसले राष्ट्रिय एकतालाई कमजोर बनाउँछ ।‘ कियाचु धनकुटाका अध्यक्ष हेमकुमार आङ्गला, नगर अध्यक्ष नेमराज लिम्वुले संयुक्त रुपमा धनकुटाका निमिक्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीलाई ज्ञापनपत्र वुझाएका हुन् । सहायक प्रजिअ रेग्मीले सरोकारवालाहरुको मागलाई सम्वनिधत् स्थानमा तत्काल पठाउने प्रतिवद्धता जनाएका छन् ।
- dhankutapress