धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
धनकुटा/भूमिपत्र किराँत राईहरुको महान पर्व उधौली धनकुटाको टुडिखेलमा धुमधामसँग सनिवार मनाइएको छ । किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई किराँत राईहरुले उधौली साकेला, याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, कुलुङ्गले चाक्चाकुर, आठपहरियाले वाडाङ्गमेट र लिम्बुहरूले चासोक तङ्नाम भन्ने गरेका छन् । किराँत राई जातिमा बाली लगाउने बेलामा भने उभौली अर्थात यावा पर्व मनाइने प्रचलन छ । अन्नवाली पाकेर थन्काउने यो सिनजामा भने उधौली पर्व किराँती समुदायले परापूर्वकाल देखि मनाउँदै आएका छन् ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा तल्लो टुँडिखेलमा सम्पन्न साकेला उधौली पर्वमा हजारौंको संख्यामा मौलिक भेषाभुषा सहित झाँकी प्रदर्शन गरिएको हो । अघिल्लो वर्षहरु झै यो वर्ष पनि साकेला उधौलीमा रौनक वढेको हो । किराँत राई यायोख्खा धनकुटाको आयोजनामा सम्पन्न भएको मौलिक झाँकी प्रदर्शनमा साकेला सिली नृत्य, खाल्सा क्षेत्रका राईहरुको पापानी नाच र वाढाङ्मेट नाच प्रस्तुत गरिएको थियो । किराँत समुदायमा रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषा अनुसार यो पर्वमा आफ्नो इष्टदेवलाई पुकार्ने चलन छ ।
किराँत समुदायको उल्लेख्य बसोबास रहेको धनकुटा जिल्लामा अघिल्लो वर्षहरुको तुलनामा साकेला यो वर्ष उधौली पर्व धुमधामका साथ मनाइएको छ । अन्नलाई किराँत समुदायले माङ् (देवता) का रुपमा मनाउने गर्दछ । पछिल्लो पुस्तामा जातजातिको साँस्कृतिक झाँकी भनेको के हो भन्ने थाहा हुन छाडेकाले नयाँ पुस्तालाई झक्झकाउन कार्यक्रमको आयोजना गरिएको किराँत राई यायोखा धनकुटाका अध्यक्ष उद्धवमणि राईले जानकारी दिए । उनले झाँकी प्रदर्शनीमा धनकुटा जिल्लाको सातै पालिकाहरुबाट प्रतिनिधिमुलक ढंगले सहभागी जनाएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता आनन्द सन्तोषी राई, सचिव विजय सन्तोषी राई, पहिचान धनकुटा जिल्ला संघर्ष समितिका जिल्ला संयोजक संजय सज्तोषी राई, उप–संयोजक सरकुमारी आठपहरिया, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष नविनकिशोर शाक्य, जसपाका जिल्ला अध्यक्ष पार्वती राई, नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष विदुर खवास, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ का अध्यक्ष सन्तवीर लामा लगायल शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
त्यसैगरी एकल जातिय संस्थाहरुको तर्फबाट भूजेल सेवा समाज प्रदेश कमिटि सचिव जेपी भूजेल, नेपाल मगर संघका प्रदेश सचिवालय सदस्य इन्द्र लुङ्गेली मगर, किराँत याक्थुङ चुम्लुङ्गका जिल्ला सचिव हेमु स्मृति चोङ्गवाङ्ग लगायतको उपस्थिति रहेको थियो । यसैविच किराँत राई यायोखा जिल्ला समिति धनकुटाले साकेला उधौली पर्वको अवसर पारेर जिल्ला सदरमुकाम धनकुटामा कार्यरत अधिकृत तहका राष्ट्रसेवक निजामती कर्मचारीहरु, संस्थामा योगदान गर्ने अग्रजहरु र किराँत राई कलाकारहरुलाई फेटा गुथेर प्रमाण पत्र सहित सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दसरथ राई लागयत धनकुटामा हाल कार्यरत रहेका अधिकृत तहका राई समुदायका राष्ट्रसेवक निजामति कर्मचारीहरु र ख्याति प्राप्त राष्ट्रिय कलाकार गायक कृष्णभक्त राई लगायतलाई मातृसंस्थाले सम्मान गरेको थियो । सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र किराँत राई यायोखा धनकुटाका अध्यक्ष उद्धवमणी राईले फेटा गुथेर प्रमाणपत्र सहित सममान गरेका थिए । सो अवससमा नगर प्रमुख तामाङलाई पनि कार्यक्रम आयोजक संस्थाको तर्फबाट फेटा गुथेर सम्मान गरिएको थियो ।
- dhankutapress