धनकुटा प्रेस सम्वाददाता
धनकुटा/किराँत समुदायको मुन्दुमी आस्थाको केन्द्र खुवालुङ क्षेत्रमा माङखिमसहित विभिन्न सांस्कृतिक संरचनाको शिलान्यास गरिएको छ ।
किराँत राई यायोखा जिल्ला कार्यसमिति (सुनसरी, धनकुटा र उदयपुर) तथा खुवालुङ जग्गा व्यवस्थापन एवम् माङखिम निर्माण उपसमिति साथै किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति काठमाडौँको आयोजनामा मङ्गलबार शिलान्यास कार्यक्रम सम्पन्न गरिएको हो ।
धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सङ्गमस्थल त्रिवेणी क्षेत्रमा रहेको खुवालुङ खाम (परिसर) लाई मुन्दुमी आस्था र शक्तिको अभ्यास स्थलका रूपमा विकास गरिदै छ । खुवालुङमा मुन्दुमी खिम (घर) निर्माण गरिनुका साथै आगन्तुकका लागि आवासीय संरचना पनि निर्माण गरिने किराँत राई यायोक्खाका केन्द्रिय अध्यक्ष जीवन हताचो राईले जानकारी दिएका छन् ।
किराँती समुदायको संस्कृति र ज्ञान प्रणालीलाई प्रतिनिधित्व गर्ने गरी ‘किराँत राई सांस्कृतिक मौखिक ज्ञान सङ्ग्रहालय’ र ‘मुन्दुम खिम (पाठशाला)’ निर्माण गरिनेछ । सङ्ग्रहालयमा अडियो, भिजुअल, तस्बिर तथा सांस्कृतिक सामग्री संचालन गरिनेछ भने मुन्दुम खिममा किराँती मुन्दुम र ज्ञान प्रणालीसम्बन्धी शिक्षा सञ्चालन गरिने अध्यक्ष राईको भनाइ छ ।
कोशी प्रदेश सरकारबाट विनियोजित दुई करोड ४० लाखको बजेटमा उक्त सङ्ग्रहालय निर्माण हुन लागेको हो । खुवालुङ (सप्तकोशीस्थित त्रिवेणी) लाई मौलिक सांस्कृतिक केन्द्रका रूपमा विकास गर्दै देशकै महत्वपूर्ण सांस्कृतिक पर्यटकीय क्षेत्र बनाउने लक्ष्य राखिएको अध्यक्ष राईले बताए ।
सखुवा कन्स्ट्रक्सन कन्सल्टेन्सी प्रा.लि.ले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सहकारी विकास तथा भवन कार्यालय धनकुटामा प्रस्तुत भइसकेको छ । किराँत राई यायोक्खाले उक्त डिपीआर परिमार्जन गर्नुपर्ने मागसहित संशोधन प्रस्तावसमेत पेस गरेको जनाएको छ ।
परिमार्जित डिपीआर तयार गर्दा सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशद्वारा तयार गरिएको ‘खुवालुङ ः किरातीहरूको पुख्र्यौली पवित्र आस्था तथा मुन्दुमी शक्ति केन्द्र (सांस्कृतिक इन्जिनियरिङ अर्थात् सैद्धान्तिक अध्ययन), २०८२’ लाई आधार बनाइएको जनाइएको छ ।
करिब ६ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको माङखिम र मुन्दुमी खिमका लागि आवश्यक जग्गा किरात राई यायोक्खा केन्द्रीय कार्य समिति र व्यवस्थापन समितिले विभिन्न दाताबाट रकम संकलन गरी खरिद गरेको यायोख्खाका केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले जानकारी दिए । स्थानीय तीर्थराज राई, धर्मराज राई र देवराज राईले दुई रोपनी जग्गा दान गरेका छन् ।
खुवालुङ नेपालको सप्तकोशी नदीस्थित त्रिवेणी क्षेत्रमा रहेको एक चट्टान हो, जुन किराँती समुदायका लागि पवित्र मानिन्छ । दूधकोशी, अरुण र तमोर नदीको सङ्गमस्थलमा रहेको उक्त ढुङ्गालाई किराती समुदायले ‘खुवालुङ’ का रूपमा चिन्ने गरेका छन् । यो किराती जातिको पवित्रस्थलमध्येको एक मानिन्छ ।
किराती भाषामा ‘खु’ भनेको ठूलो, ‘वा’ भनेको पानी र ‘लुङ’ भनेको ढुङ्गा भन्ने अर्थ लाग्छ । यसरी ठूलो नदी (कोशी) को बीचमा रहेको ढुङ्गा भएकाले ‘खुवालुङ’ नाम रहन गएको जानकारहरू बताउँछन् । मुन्दुमी मिथकअनुसार खुवालुङलाई किराँतीहरूको साझा आस्था स्थलका रूपमा व्याख्या गरिएको छ ।
प्रकृतिपूजक किराँती समुदायको हजारौँ वर्षदेखिको आत्मिक सम्बन्ध खुवालुङसँग जोडिएको मानिन्छ । किराँत राई समुदायभित्र रहेका विभिन्न भाषा, थर र पाछामा पाइने विविधतालाई समेत खुवालुङसम्बन्धी मिथकले सम्बोधन गर्ने विश्वास रहँदै आएको छ ।
- dhankutapress