धनकुटा प्रेस सम्वाददाता
भद्रपुर/याक्थुङ लिम्बु समुदायको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ (कियाचु)को १२ औं राष्ट्रिय महाधिवेशन चैत १२, १३ र १४ गते हुने भएको छ । संस्थाले वुधवार चारआलीमा पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशन बारे जानकारी दिएको हो ।
झापाको भद्रपुर स्थित मेची रंगशाला अगाडिको खुल्ला मैदानमा हुने कार्यक्रमको उद्धघाटन चैत १२ गते हुनेछ । कार्यक्रममा प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङका संस्थापक उपाध्यक्ष, पूर्व शान्ति तथा पुन:निर्माण मन्त्री रकम चेम्जोङ रहने किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष निरन्ती तुम्बापोले पत्रकार सम्मेलनमा जानकारी दिइन् ।
उद्धघाटनको दिन लिम्बु जातिको सांस्कृतिक पहिचान झल्किने भेषभुषा,केःलाङ लगायतका साँस्कृतिक झाँकी सहित बजार परिक्रमा गरिनेछ । सोही अवसरमा लिम्बूवानका ९ वटा जिल्लासहित उपत्यकाका तीन जिल्ला र ओखलढुङगा, कास्की पोखरा र चितवन गरी १५ जिल्लाका प्रतिनिधीहरु र पर्यवेक्षकहरूको उपस्थिति रहने विज्ञप्तीमा उल्लेख छ ।
साथै प्रदेश नं. १ का लिम्बुवान प्रदेश कार्यसमिति ,बागमती प्रदेशको नेवा ताम्सालिङ प्रदेश कार्य समिति, ६ वटा विषयगत संगठनका प्रतिनिधिहरु, विदेशस्थित चुम्लुङका प्रतिनिधिहरु, सम्बन्धन प्राप्त लिम्बुजन्य तथा थरगत संस्थाका प्रतिनिधिहरु गरी करिब ५ सय जना यस कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
त्यस्तैगरी चैत्र १३ र १४ गते सगरमाथा चोकस्थित होटल डेग्लोको सभाहलमा सन्चालन हुने महाधिवेशनको बन्दसत्रमा मुकुम्लङ संरक्षण, नो केबलकार, प्रदेश १ लाई लिम्बुवान किरात नामाकररणको विषयमा गम्भिर छलफल हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । त्यसैगरी जारी पत्रकार सम्मेलनमा ‘नो कोशी‘ तथा लिम्बु याक्थुङ भाषाको बर्तमान अवस्था, प्रदेश नम्बर एकमा लिम्बु भाषालाई सरकारी कामकाजी भाषाको रुपमा कार्यन्वयन, लिम्बु समुदायको मृत्यु संस्कार, परम्परा, बिचलन र प्रभावहरू, आदिवासी संस्था र ऐन कानुन सम्बन्धमा विशेष छलफल हुने महासचिव तुम्बापोले जानकारी गराएकी छन् ।
- dhankutapress