धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता
पञ्चमाया तामाङ
धनकुटा/हरेक वर्ष भाद्र कृष्णपक्षमा मनाइने गाईजात्रा पर्व मंगलबार धनकुटामा सदा झै भव्य रुपमा मनाइएको छ ।
एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रुपमा सिंगारी आ–आफ्ना गाउँ टोलमा परिक्रमा गराउने र उनीहरुलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहेको छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरु गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।
नेवाःपुचः धनकुटाको जिल्ला कार्यालय सिरवानीमा भेला भएर धनकुटाका नेवारी समुदायले जात्रा निकालेका हुन । यस वर्षको जात्रा २१ घरवाट निकालिएको नेवाःपुचः धनकुटाका अध्यक्ष श्रीकृष्ण प्रधानले वताएका छन् । अघिल्लो वर्ष १९ घरले जात्रा निकालेका थिए । नेवार समुदायमा एक वर्ष भित्रमा मृत्यु हुनेहरुको सम्झनामा परिवारजन र आफन्तहरुले जात्रा निकाल्ने परापुर्वकाल देखी प्रचलन रहेको प्रधानले वताएका छन् ।
मंगलवार करिव ११ वजेवाट सिरवानी नेवाःपुचः को कर्यालयवाट शुरु भएको गाई जात्रामा सयौंंको सहभागिता रहेको थियो । जात्रा सिरवानी, सव्जी वजार, मदनचोक, हुलाकटोल, चुवावोट, परिचयमोड, विचवजार, सिरानवजार, भिमनारयणचोक, माथिल्लोकोप्चे, तल्लो कोप्चे हुँदै धनकुटा–५ टुडिखेलमा पुगेर जात्रा टुङ्गिएको थियो । जात्रामा हजारौंको सहभागिता रहेको थियो । जात्रा हेर्न जिल्लाको विभिन्न पालिकाहरुबाट हजारौं दर्शकहरु आएका थिए ।
राजा प्रताप मल्लले पुत्रशोकले भाव विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई मृत्यु भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउन आदेश दिएपछि गाइजात्राको चलन सुरु भएको मानिन्छ । गाइजात्राले मात्रै रानीको मन शान्त नभएपछि विभिन्न प्रकारका प्रहसन तथा व्यंगात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरुप जात्राको प्रचलन चलेको विश्वास गरिन्छ ।

- dhankutapress