धनकुटा प्रेस सम्वाददाता
धनकुटा/प्रदेशको नाम कोशी र ताप्लेजुङ्गमा केबलकार परियोजना तत्काल खारेज गर्नु पर्ने माग राख्दै धनकुटामा सोमवार विरोधसमा आयोजना गरिएको छ ।
प्रदेश सरकारले ०७९ फागुण १७ गते १ नम्वर प्रदेसको नाम जवर्जस्त ढंगले कोशी प्रदेश नामंकन गरेको विरोधमा प्रदेश नं.१ पुनः नामंकन संघर्ष समिति धनकुटा र किराँत याक्थुङ्ग चुम्लुङ्ग लगायत धनकुटामा रहेका एकल जातिय संस्थाहरुले विरोध जनाएका हुन् ।
विरोधसभालाई सम्वोधन गर्दै जसपा नेपालका केन्द्रिय सचिव राजकुमार राईले मुकुम्लुङ्ग किराँत जातिको आदिमकाल देखीको पवित्रभूमि भएकाले विकासको नाममा विनास गर्न नहुने बताएका छन् । उनले मुकुम्लुङ्ग माङ भनेको सवै जातजातिको आस्थाको धरोहर भएकाले आम नागरिकको भावानालाई सरकारले सम्मान गर्नु पर्नेमा जोड दिए ।
त्यसैगरी प्रदेश नं.१ पुनःनामंकन जिल्ला संघर्ष समन्वय समिति धनकुटाका संयोजक एवं पहिचानवादी नेता संजय सन्तोषी राईले ताप्लेजुङ्गमा अघिल्लो वर्ष स्थानिय प्रशासनले प्रहरी दमन गरेर स्वेत आतंक मच्चाएको आरोप लगाए । उनले भने–‘नागरिकले शान्तिपूर्ण ढंगले आन्दोलन गरिरहेको अवस्थामा प्रहरी दमन गर्न निर्देशन दिने स्थानिय प्रशासन र जनप्रतिनिधि हामीलाई चाहिन्दैन ।’ उनले प्रदेशको नाम कोशी र ताप्लेजुङ्गको मुक्कुम्लुङ्गमा केबलकार खारेज नहुन्जेल निरन्तर आन्दोलन अघि बढाउनु पर्नेमा जोड दिए ।
सो विरोधसभामा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष नविन किशोर शाक्य, कियाचु केन्द्रिय सदस्य चन्द्रसिं नेम्वाङ्ग, जसपा नेपालका धनकुटा जिल्लाबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका आइतराज चेम्जोङ्ग, कियाचु धनकुटाका अध्यक्ष हेमकुमार आङ्गला, किराँत राई यायोखा जिल्ला अध्यक्ष उद्धवमणी राई लगायतले सम्बोधन गरेका थिए ।
उनीहरुले प्रदेशको नाम कोशी र ताप्लेजुङ्गमा केबलकार खारेज नहुन्जेलसम्म आन्दोलन देशव्यापी रुपमा जारी राख्नु पर्नेमा जोड दिएका छन् । उनीहरुले प्रदेस र केन्द्रबाट ‘प्रदेशको नाम कोशी र ताप्लेजुङ्गमा केबलकार खारेज’ को लागि पूर्बघोषित आन्दोलनलाई धनकुटामा पनि निरन्तरता दिनु पर्नेमा जोड दिए । विरोधसभाको संचालन किराँत याक्थुङ्ग चुम्लुङ्ग धनकुटाका सचिव शिव कुमार तिगेला लिम्वूले गरेका थिए ।
- dhankutapress