धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/बैसाख २७ गतेदेखि १५ औ शहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगिता धनकुटामा हुने भएको छ । गोल्डकप आयोजक समितिले वुधवार पत्रकार सम्मेलन गर्दै बैसाख २७ देखि जेठ २ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो ।
वि.सं.२०५५ सालबाट सञ्चालन हुन थालेको शहिद भीमनारायण गोल्डकपको यो १५ औं संस्करण हो । वि.सं.२०६३ सालयता बर्षेनी गोल्डकप सञ्चालन भइरहे पनि वि.सं.२०७६ यता प्रतियोगिता सञ्चालन हुन सकेको थिएन । कोरोना महामारीका कारण स्थगन भएको बताइएको प्रतियोगिता तीन बर्षपछि पुनः सञ्चालन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
यस पटकको विजेताले ५ लाख र उप विजेताले २ लाख ५० हजार पाउँने गोल्डकप आयोजक समितिका संयोजक सम्भु प्रधानले जानकारी दिए । प्रत्येक खेलमा म्यान अफ दी म्याच नगद ३ हजार र विधागत उत्कृष्ट पुरस्कार प्रत्येक विधामा नगद ५ हजार पाउने उनले जानकारी दिए ।
प्रतियोगितामा आयोजक टिम सहित पेमा युवा क्लव विराटनगर ,प्लानिङ ब्वाईज क्लब काठमाण्डौ, कञ्चनजंगा फुटवल क्लव सिलगुडी भारत, राष्ट्रिय जागृती फुटवल क्लव सुनसरी, झापा फुटवल क्लव झापा, एपिएफ काठमाण्डौ र विरगञ्ज युनाईटेड विरगञ्ज गरि आठ टिमको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
प्रतियोगिता सञ्चालनका लागि ४१ लाख ५० हजार रुपैया खर्च हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा सहिद भिमनारायण स्मृती प्रतिष्ठान धनकुटाका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले भीमनारायण गोल्डकपलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि २ करोड रुपैयाको अक्षयकोष सञ्चालन गर्ने तयारीमा प्रतिष्ठान रहेको जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि १० वटा उपसमिति समेत निर्माण गरेको प्रचारप्रसार समिति संयोजक विदुर खवासले जानकारी दिए ।
- Dhankutapress