धनकुटा प्रेस सम्वाददाता
धनकुटा/जिल्ला अस्पताल धनकुटामा हेमोडायलाइसिस सेवा औपचारिक रूपमा आइतवार देखि सुरु गरिएको छ ।
कोशी प्रदेश सरकारका स्वाथ्य मन्त्री भूपेन्द्र राईले एक कार्यक्रमका बिच हेमोडायलाइसिस सेवाको आइतवार उत्घाटन गरेसंगै अस्पताल स्थापना भएको १ सय ११ वर्षपछि हेमोडायलाइसिस सेवा सुरु भएको हो । यो सेवा हाल हप्तामा १२ बिरामीलाई सेवा दिन सकिने र दुई सिफ्टमा सेवा सञ्चालन गर्दा २४ जनासम्म लाभान्वित हुने अस्पताल प्रशासनले जनाएको छ ।
पन्ध्र शैयाको अस्पतालमा सुरु गरिएको हेमोडायलाइसिस सेवाले कोशी पहाडी धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभा जिल्लाका हिमाली भेगमा दुर्गम गाउँका बिरामीलाई राहत मिल्ने धनकुटा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राईले बताए । हेमोडायलाइसिस सेवाको उत्घाटन गर्दै स्वास्थ्य मन्त्री राईले सबै पक्षबिच समन्वय गरी सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने बताए ।
जिल्ला अस्पताल धनकुटालाई ५० वा एक सय शैयामा विस्तार गर्ने विषयमा समेत प्रदेश सरकार सकारात्मक रहेको भन्दै प्रदेशबासीलाई सुलभ सेवा दिन सरकार प्रतिबद्ध रहेको स्वास्थ्य मन्त्री राइको भनाइ थियो । जिल्ला अस्पताल धनकुटामा चाँडै नै आइसियु सेवा पनि सुरु गरिने स्वास्थ्य मन्त्री राईले बताएका छन् ।
कार्यक्रममा बोल्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले यो खर्चिलो सेवा भएकाले धेरै बिरामीलाई सहज हुने बताए । उनले हेमोडायलाइसिस सेवा संचालनको लागि धनकुटा नगरपािलकाले गर्नु पर्ने सहयोग गर्न पछि नपर्ने बताए । हेमोडायलाइसिस सेवा सञ्चालनका लागि बजेट अभाव नहुने नेपाल सरकारका स्वास्थ्य मन्त्रालयकी सचिव राधिका थपलियाले बताइन् ।
- dhankutapress